राष्ट्रिय दैनिक / नवलपरासी ,१ कार्तिक नेपाल र भारतको सीमामा शान्ति सुरक्षा कायम गर्ने तथा तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपाल हाल आफैं विवादमा तानिएको छ। संगठनका केही उच्च अधिकारी तथा कर्मचारीहरूको संलग्नताका कारण तस्करी नियन्त्रण गर्ने संयन्त्रमाथि नै प्रश्न उठ्न थालेको हो। स्थानीयवासीका अनुसार सीमामा तैनाथ केही प्रहरी अधिकारी र सशस्त्र प्रहरीको मिलेमतोका कारण तस्करीको जालो दिनानुदिन फैलिँदै गएको छ। तस्कर र प्रहरीबीचको साँठगाँठका कारण सीमामा अवैध कारोबार झन् बढ्दै गएको स्थानीयवासीको दाबी छ। पवित्र सुरक्षा निकायमाथि औंला उठाउने यस्ता घटनाले संगठनकै विश्वसनीयता घट्न थालेको चिन्ता देखिएको छ। लुम्बिनी प्रदेशअन्तर्गत पर्ने नवलपरासी जिल्लाका विभिन्न नाकाहरू महेशपुर भुजहवा,बसहिया,सुस्ता,पाँचपेडा, रगरगंज,गोपालपुर र विष्णुपुरा हाल तस्करीका प्रमुख प्रवेश द्वारका रूपमा परिचित बन्दै गएका छन्। स्थानीयका अनुसार राति तस्करहरूको बाक्लो लस्कर देखिन्छ भने घरायसी सामग्री ल्याउने सर्वसाधारणलाई भने सशस्त्र र नेपाल प्रहरीले कडा रूपमा चेकजाँच गर्ने गरेको आरोप छ। एक स्थानीय व्यापारीका अनुसार “तस्करहरूलाई त छुट हुन्छ, तर सर्वसाधारणले सामान्य सामग्री ल्याउँदा समेत बाधा पुर्याइन्छ।” सीमा सुरक्षा गुल्म हरपुरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (DSP) र ड्युटीमा खटिएका सुरक्षाकर्मीहरू आर्थिक प्रलोभनमा परेको आरोप स्थानीयले लगाएका छन्। यही कारण तस्करीमा कमी नआएको उनीहरूको भनाइ छ। हाल नवलपरासीका नाकाबाट मोबाइल टेम्पल ग्लास, धातुका मूर्ति, कफी, कपडा, अमोलका बटर क्रिम, इलेक्ट्रोनिक, पपकर्न सामानलगायतका वस्तुहरू अवैध रूपमा नेपाल भित्र्याइँदै आएको बताइन्छ। भारतबाट अवैध रूपमा धुपका रुखको दाउरा समेत नाउमार्फत नेपालतर्फ ल्याउने क्रम जारी रहेको प्रहरी स्रोतले जनाएको छ। गण्डक नगरतर्फ आउने क्रममा भारतीय प्रहरीले यसरी ल्याइएका केही दाउरा नियन्त्रणमा लिएको जनाएको छ। त्यस्तै पाँचपेडा नाका हुँदै कपडा, राँगा भैँसी, खसी–बोका तथा पटाका खुलेआम भित्र्याइने गरेको खुलासा भएको छ। नवलपरासीका प्रभावशाली तस्करहरूले स्थानीयदेखि केन्द्रसम्म ‘लाइन मिलाएर’ सामान ल्याउने गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी र २६ नम्बर बाहिनी प्रमुखदेखि स्थानीय प्रहरी नेतृत्वले आफू निर्दोष भएको दाबी गरे पनि नवलपरासीका नाकाहरूमा भइरहेको व्यापक तस्करीले उनीहरूको इमान्दारीमाथि नै प्रश्नचिन्ह खडा गरेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।