राष्ट्रिय दैनिक / नवलपरासी ,३० असाेज पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकामा ‘पोषणमार्फत जीवन रूपान्तरण परियोजना’ अन्तर्गत पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र स्थानीय परियोजना सल्लाहकार समितिको संयुक्त बैठक सम्पन्न भएको छ। बैठक सरावल गाउँपालिकाको आयोजना तथा हेलन केलर इन्टरनेशनल, भिटामिन एन्जल्स, आईडीई र बेस नेपालको समन्वय तथा एकीकृत हातेमालो समाज (SIAN) को सहजीकरणमा सम्पन्न भएको हो। बैठकमा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी, उपाध्यक्ष बासमती हरिजन, लेखा अधिकृत नारायण पाण्डेय, वडा नं. ३ का वडा सदस्य फिरंगी चौधरी र एकीकृत हातेमालो समाजका कार्यकारी निर्देशक प्रलाद तिमिल्सिना लगायत सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले “स्वस्थ नागरिक नै समृद्ध गाउँपालिकाको आधार हो” भन्दै सरावललाई पोषणमैत्री र बालमैत्री पालिका बनाउने दिशामा सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले थप गर्नुभयो, “एकीकृत हातेमालो समाज र परियोजना सहयोगी संस्थाहरूको योगदान नजिकबाट देख्न पाइरहेका छौं। सरावललाई स्वास्थ्य र पोषणका दृष्टिले आदर्श पालिका बनाउन हामी प्रतिबद्ध छौं।” त्यसैगरी उपाध्यक्ष बासमती हरिजनले बालबालिकाको सुनौलो हजार दिनको अवधिमा पोषण सुधारका गतिविधि प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रमको सहजीकरण एकीकृत हातेमालो समाज (SIAN) काे तथ्यांक अधिकृत मीन रानाले गर्नुभएको थियो। उक्त परियोजनाको उद्देश्य सुनौलो हजार दिनका बालबालिका र आमाहरूमा लक्षित पोषण सुधारमार्फत जीवनस्तर रूपान्तरण गर्नु रहेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।