राष्ट्रिय दैनिक / नवलपरासी , १४ असोज शारदीय नवरात्रको सप्तमी पर्वको अवसरमा पश्चिम नवलपरासीको महेशपुरमा सोमबार माता दुर्गाको कालरात्री स्वरूपको पूजा–अर्चना भव्य रूपमा सम्पन्न भएको छ। बिहानैदेखि दर्शनका लागि मन्दिर र पण्डालमा भक्तजनहरूको भीड लाग्दा महेशपुर बजार क्षेत्रमा विशेष चहलपहल देखियो। महिला र बालबालिकाको उत्साहपूर्ण सहभागिताले वातावरणलाई झन् धार्मिक र सांस्कृतिक रंग दिएको थियो। कोटाही मन्दिर, मुख्य चोकलगायतका स्थानमा दर्शनका लागि लामबद्ध भक्तजनहरूको घुइँचो लागेको थियो। रात्री आरतीमा पनि महिलादेखि पुरुषसम्म सक्रिय सहभागी बनेका थिए। कार्यक्रमको औपचारिक शुभारम्भ पूर्व गृहमन्त्री तथा सहकारी विभागका प्रमुख देवेन्द्र राज कँडेलले माता रानीको मुख खोली प्रदीप बाली गर्दै गरेका थिए। उनी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने महेशपुरका युवाहरूले पनि सक्रिय सहकार्य गरेका थिए। यसै क्रममा स्थानीय युवाहरूले झाँकी कार्यक्रमको आयोजना गरी नाचगान, सांस्कृतिक प्रस्तुति र रमाइलो प्रदर्शन गरेका थिए। सडक र पण्डालहरू रंगीन सजावटले झकिझकाउ बनेका थिए। महेशपुरमा नवरात्रका अवसरमा यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने परम्परा वर्षौंदेखि निरन्तर रहँदै आएको छ। यसपटक पनि युवाहरूको सक्रियता र भक्तजनहरूको उत्साहका कारण सप्तमी पर्व अझ भव्य र स्मरणीय बनेको स्थानीयहरूले बताएका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।