राष्ट्रिय दैनिक / नवलपरासी , ७ असोज पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले उखु किसानलाई दिनुपर्ने अनुदान रकम तत्काल उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग आग्रह गरेको छ। गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवद्वारा मंगलबार मन्त्रालयलाई पठाइएको पत्रमा पटक–पटक सरकारसँग भएका सहमति र निर्णयहरू कार्यान्वयन नगरेको भन्दै चाडपर्व नजिकिँदै गर्दा किसानलाई थप संकटमा नधकेल्न अनुदान भुक्तानी तत्काल सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ। गत भदौ ८ देखि १३ गतेसम्म राजधानी माइतिघर मण्डलामा किसानहरूले गरेको धर्ना र भदौ २५ गतेदेखि सुरु हुने गरी तय गरिएको हरिवन केन्द्रित आन्दोलन, देशभर फैलिएको Gen Z आन्दोलनका कारण स्थगित भएको स्मरण पत्रमा उल्लेख छ। तर मन्त्रालयको बजेट तथा कार्यक्रममा (रातो किताब) प्रष्ट रूपमा समावेश भए पनि किसानले अझैसम्म प्रतिक्विन्टल ७० रुपैयाँका दरले पाउनु पर्ने अनुदान नपाएको गुनासो गरिएको छ। “किसानले उत्पादनको उचित मूल्य र सरकारले घोषणा गरेको अनुदान प्राप्त गर्न ढिलाइ हुनु अन्याय मात्र नभई किसानको अस्तित्वमाथि नै प्रहार हो,” पत्रमा भनिएको छ। अनुदान रकम यस पटक पनि सुनिश्चित नभए दशैं लगत्तै किसान पुनः आन्दोलनमा जान बाध्य हुने चेतावनीसहित गाउँपालिकाले मन्त्रालयलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।