नवलपरासी , २ असोज । युवाहरुलाई रक्तदान गर्न उत्प्रेरित गर्ने उद्देश्यले पश्चिम नवलपरासीको परासीस्थित पाल्ही बहुमुखी क्याम्पस जीतपुरमा रक्तदान उत्प्रेरणाका लागि सचेतना कार्यक्रम गरिएको छ ।
नेपाल स्वयमसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपरासीको आयोजनामा र पाल्ही क्याम्पसको सहआयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थी र प्राध्यापकलाई रक्तदानको महत्व, प्रक्रिया र फाइदाबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा रक्तदाता समाजका जिल्ला अध्यक्ष मोहन पौडेलको अध्यक्षता र पाल्ही क्याम्पस सञ्चालक समिति अध्यक्ष राधेश्याम पाठकको प्रमुख आतिथ्य रहेको थियो । नेपाल रेडक्रस सोसाइटीका परियोजना संयोजक अनुप खड्काले सहजीकरण गर्नुभएको कार्यक्रममा क्याम्पस प्रमुख दीपक अर्याल, उपाध्यक्ष प्रभा ज्ञवाली, स्ववियू सभापति नीरज धवल लगायतले रक्तदानको महत्वबारे धारणा राख्नुभएको थियो ।

अध्यक्ष पाठकले युवाहरुलाई नियमित रक्तदान गर्न आग्रह गर्दै स्वस्थ व्यक्तिले प्रत्येक तीन महिनामा रक्तदान गर्न सक्ने र रगतदान नै जीवनदान भएकाले यो सबैभन्दा ठूलो दान भएको उल्लेख गर्नुभयो ।
रक्तदाता समाजका अध्यक्ष पौडेलका अनुसार यही असोज ५ गते पाल्ही क्याम्पसमा हुने रक्तदान कार्यक्रमको पूर्वसन्ध्यामा उक्त उत्प्रेरणा कार्यक्रम आयोजना गरिएको हो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

