राष्ट्रिय दैनिक / नवलपरासी ,२८ भदौ
हालै भएको आन्दोलनका क्रममा आफ्नो दुईवटा घर पूर्णरुपमा ध्वस्त भएको दाबी गर्दै प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जिल्ला प्रशासन कार्यालयको सूचना प्रति तीव्र आक्रोश प्रकट गर्नुभएको छ।

यादवले आफ्नो फेसबुक स्टाटसमार्फत लेख्दै प्रशासनले क्षतिको विवरण माग्नु पीडितप्रति गरिएको अपमान भएको टिप्पणी गर्नुभएको छ। उहाँले भन्नुभएको छ – “मेरा दुई घर ध्वस्त भएका छन्, अहिले म परिवारसहित भारतमा शरणार्थी जीवन बिताइरहेको छु। जिउमा भएको कपडाबाहेक केही छैन। सुरक्षाकर्मीहरूको उपस्थितिमै घटना भएको हो तर अब विवरण हामीले दिनुपर्ने रे? म कुनै विवरण दिने छैन।”
अध्यक्ष यादवले आफ्नो करोडौं मूल्यबराबरको सम्पत्ति ध्वस्त भएको दाबी गर्दै घटनामा आन्दोलनकारी नभई आफ्ना राजनीतिक विरोधी र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको संलग्नता रहेको आरोप लगाउनुभएको छ। उहाँले भिडियो प्रमाण पर्याप्त रहेको र अनुकूल समयमा यसको हिसाब लिने चेतावनीसमेत दिनुभएको छ।
जिल्ला प्रशासन कार्यालयले भदौ २४ गतेको आन्दोलनमा भएको सम्पत्ति क्षति मूल्यांकनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरी विवरण संकलन गर्ने निर्णय गरेको छ। तर पीडित अध्यक्ष स्वयंले विवरण दिन अस्वीकार गर्दै प्रशासनलाई “निकम्मा” भन्दै आलोचना गर्नुभएको छ।
समितिले जिल्लाभर भएको क्षतिको विवरण संकलन गर्ने तयारी गरिरहेका बेला गाउँपालिका अध्यक्षकै यस्तो सार्वजनिक वक्तव्य आएपछि यो विषय थप चर्चामा आएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

