Rashtriya Dainik

बारामा ६२ प्रतिशत मुद्दा फर्छ्यौट, १० करोडभन्दा बढीका अवैध सामान बरामद

राष्ट्रिय दैनिक / श्रावण ३०

कलैया । जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका १ हजार ३ सय ७४ मुद्दामध्ये ८ सय ५५ वटा फर्छ्यौट गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले शुक्रबार पत्रकार सम्मेलनमार्फत वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै कुल दर्ता मुद्दामध्ये करिब ६२ प्रतिशत फर्छ्यौट भएको जानकारी दिए। ५ सय १८ मुद्दा अर्थात् करिब ३८ प्रतिशत बाँकी रहेको उनले बताए।

एसपी कुँवरका अनुसार २०८२ मंसिर ७ गते जिल्ला प्रहरी कार्यालय बारामा हाजिर भएयता प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानसँगै चोरी–तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै आएको छ। आर्थिक वर्ष २०८२/०८३ मा प्रहरीले १० करोड ३ लाख ६८ हजार ५ सय २५ रुपैयाँ बराबरका भन्सार छलीका अवैध सामान बरामद गरेको छ। अवैध कारोबारमा संलग्न १२ जना पक्राउ परेका छन् भने ३३ वटा सवारीसाधन नियन्त्रणमा लिइएको एसपी कुँवरले बताए।

उनका अनुसार खुला सीमाबाट हुने चोरीपैठारी तथा भन्सार छली नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी र गस्ती बढाइएको छ। शंकास्पद गतिविधिमाथि नियमित चेकजाँच तथा निगरानी भइरहेको उनले बताए। बारामा पछिल्लो समय साइबर अपराध, बैंकिङ कसुर र घरेलु विवाद चुनौतीका रूपमा देखिएको एसपी कुँवरले बताए। आर्थिक वर्ष २०८२/०८३ मा १९५ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएकामा १३१ वटा फर्छ्यौट भएका छन् भने ६४ वटा बाँकी छन्। अघिल्लो आर्थिक वर्षमा बैंकिङ कसुरसम्बन्धी १४७ वटा मुद्दा दर्ता भएका थिए।

प्रहरीले लागुऔषध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी–तस्करी नियन्त्रण, महिला तथा बालबालिकासम्बन्धी अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा समुदाय–प्रहरी साझेदारीका कार्यक्रमलाई समेत प्राथमिकताका साथ अघि बढाएको एसपी कुँवरले जानकारी दिए। उनका अनुसार राजमार्ग, औद्योगिक क्षेत्र तथा संवेदनशील स्थानमा नियमित चेकजाँच र गस्ती बढाइएको छ। सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै सवारी नियम उल्लंघनमाथि निगरानी बढाइएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय बारामा ९ सय ५३ जनाको दरबन्दी रहेकामा हाल ८ सय ९२ जना प्रहरी कार्यरत छन्। दरबन्दीअनुसार ६१ जना प्रहरी जनशक्ति अपुग रहे पनि उपलब्ध जनशक्तिबाट शान्ति सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान तथा गस्तीको काम सञ्चालन भइरहेको एसपी कुँवरले बताए। सवारीसाधनको कमीका कारण कतिपय अवस्थामा प्रहरी कर्मचारीले आफ्नै मोटरसाइकल प्रयोग गरेर ड्युटी गर्नुपर्ने अवस्था रहेको उनले बताए। केही अस्थायी प्रहरी पोस्ट तथा चौकीमा फ्यान, बेडलगायतका आधारभूत सुविधाको समेत समस्या रहेको उनले जानकारी दिए।

एसपी कुँवरले आगामी दिनमा नागरिकको अपेक्षाअनुसार परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। अपराध नियन्त्रण तथा अनुसन्धानमा नागरिकबाट प्राप्त हुने सूचना महत्वपूर्ण हुने भन्दै उनले प्रहरीलाई आवश्यक सूचना उपलब्ध गराउन आग्रह गरे। शान्ति सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सही सूचना नागरिकसम्म पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने बताए।

प्रहरीको ‘नेपाल पुलिस एप्स’ मार्फत प्राप्त हुने गुनासो तथा सूचनामाथि समेत जिल्ला प्रहरी कार्यालयबाट आवश्यक निगरानी र समन्वय गर्ने गरिएको उनले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित