Rashtriya Dainik

मन्त्रिपरिषद् बैठकमा ओली : मेरो पद जाओस् तर देशलाई हेप्ने मेटासँग झुक्दिनँ

काठमाडौँ ,२३ भदौ

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा फेसबुकलगायत सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन नसकिने बताएका छन्।

जेनजी प्रर्दशनकारीले सोमबार देशका विभिन्न स्थानमा गरेको प्रदर्शनमा सरकारले व्यापक दमन गर्दा २० युवाको ज्यान गएको छ। चार सय बढी घाइते भएका छन्। साँझ नै बसेको नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकबाट सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक राखेर सामाजिक सञ्जाल तत्काल खोल्न आग्रह गरेका थिए।

सोमबार साढे ७ बजे मन्त्रिपरिषद् बैठक बस्यो। तर, प्रधानन्त्री ओलीले सामाजिक सञ्जाल खोल्न नसकिने बताए।

‘मेटाले एक जना महिलाको नाममा एउटा पत्र पठाएको रहेछ, बैठकमै त्यसलाई पढेर सुनाइएको थियो,’ एक मन्त्रीले नेपालखबरसँग भने, ‘बैठकमा सुनाइएको पत्र अनुसार नेपालमा फेसबुक नचलाए पनि केही फरक पर्दैन, हामीले कम्पनी स्थापना गर्नुपर्छ भन्ने के छ? नेपालजस्तो भ्रष्ट देशमा हामीले चलाउनै पर्छ भन्ने पनि केही छैन भन्ने कुरा उल्लेख गरिएको थियो।’

जुन पत्रकै कारण आफू सामाजिक सञ्जाल बन्द गर्नुपर्छ भन्नेमा पुगेको पनि ओलीले प्रस्टीकरण दिएकोे ती मन्त्रीले बताए।

‘प्रधानमन्त्रीले बरु मलाई कुनै जिम्मेवारीमा नरहँदा खुसी हुन्छु तर, देशलाई हेपेको मलाई सहन गाह्रो भयो। पीडा भयो,’ ओलीको थप भनाइ ती मन्त्रीले उद्धृत गर्दै भने, ‘पटकपटक अनुरोध गर्दा पनि टेरेको छैन, यस्ता खालको पत्र पठाउँछ अनि बन्द नगरेर के गर्नु?’

सबैको साथ पाएको भए मेटा आफै झुक्ने सम्भावना रहे पनि साथ नपाएको ओलीले गुनासो गरे।

‘सिंगो कम्पनी पछि झुक्छ भन्ने नै मेरो बुझाइ थियो तर, नेपालीहरूले अलि अडान दिएर कम्पनीसँग हामी झुक्दैनौँ भनिदिएको भए ऊ झुक्थ्यो, मेरो अरु कुनै स्वार्थ होइन, केही होइन, स्वाभिमानमा आँच आउने गरी उसले जसरी हेप्यो, त्यो कारणले बन्द गर्नुपरेको हो,’ ओलीले भने।

त्यसलाई के गर्ने भन्ने बारेमा निर्णय गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच बालुवाटारमा बैठक बसिरहेको छ।

सरकारले दर्ता र सूचीकरण हुन नआएका मेटासहितका २६ वटा सामाजिक सञ्जाललाई गत बिहीबारदेखि बन्द गराएको छ।

भ्रष्टाचार र सञ्जाल बन्दको विरोध गर्दै युवाहरुले सोमबार काठमाडौँसहित देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए। तर, सो प्रदर्शनमा प्रहरीले व्यापक दमन गर्दा काठमाडौँको नयाँ बानेश्वरमा १८ र सुनसरीको इटहरिमा २ गरी २० जनाको निधन भएको छ।

सामाजिक सञ्जाल बन्द गरेकै कारण जेनजी बढी आक्रोशित भएको ठहर गर्दै कांग्रेस सभापति देउवाले सोमबार बेलुकादेखि नै चल्न बनाउन ओलीलाई भनेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित