राष्ट्रिय दैनिक / नवलपरासी ,२३ भदौ
जिल्ला समन्वय समिति पश्चिम नवलपरासीले आइतबार वार्षिक प्रगति समीक्षा तथा असल अभ्यास अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

समितिका प्रमुख भगौती यादव (रुदल) को अध्यक्षता र पूर्व कानून मन्त्री तथा सांसद धु्रवबहादुर प्रधानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाभरका २० वटा निकायहरूले आफ्नो प्रगति प्रतिवेदन सार्वजनिक गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद प्रधानले करदाताको रकमबाट हुने विकासमा जनप्रतिनिधिहरू नाम जोड्ने होडबाजीमा लागेको आरोप लगाउनुभयो। उहाँले गुणस्तरीय कामभन्दा प्रचारमुखी गतिविधिले जनतामा असन्तुष्टि बढाएको उल्लेख गर्दै विकासलाई राजनीति भन्दा माथि राख्नुपर्नेमा जोड दिनुभयो।

त्यस्तै पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य खडक बस्नेतले प्रगति प्रतिवेदनमा संघ र प्रदेश तहले गरेका उपलब्धि समावेश नगरेको भन्दै आपत्ति जनाउनुभयो। उहाँका अनुसार सबै तहका काम सार्वजनिक प्रतिवेदनमा समेट्दा मात्र पारदर्शिता र जवाफदेहिता सुनिश्चित हुन्छ।

कार्यक्रममा प्रदेशसभा सदस्य बैजनाथ जैसवाल, कांग्रेस जिल्ला उपसभापति विक्रम यादव, जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादव, रास्वपा उपसभापति रबि पाण्डेय, माओवादी केन्द्र जिल्ला अध्यक्ष रामानन्द यादव, एमाले सचिव रामचन्द्र भण्डारी, सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी, बर्दघाट नगर प्रमुख सम्भुलाल श्रेष्ठलगायतले सहकार्य र समन्वयबाट मात्र जिल्लाको विकास सम्भव हुने धारणा राख्नुभयो।

समितिका प्रमुख यादवले जिल्ला समन्वय समिति संविधानले दिएको अधिकारअनुसार स्थानीय तह, संघ र प्रदेशबीच सहकार्य गर्दै आएकाे स्पष्ट गर्दै योजनाहरूलाई सन्तुलित र प्रभावकारी बनाउन निरन्तर भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

