Rashtriya Dainik

यात्रुहरूको लागि ‘काल’ बन्दै भिमटाँडी–सरावल पहुँचमार्ग, सरकार–ठेकेदारप्रति स्थानीय आक्रोश

उमेश बि.क / नवलपरासी, १८ भदौ

स्थानीय तह स्थापना भएको सात वर्ष बितिसक्दा पनि सरावल गाउँपालिकालाई जोड्ने भिमटाँडी–सरावल पहुँचमार्ग निर्माण सम्पन्न हुन नसक्दा स्थानीयवासी आक्रोशित भएका छन्।

गाउँपालिकाको प्रमुख यातायात मार्गका रूपमा रहेको सडक निर्माण अधुरो रहँदा स्थानीयवासीको दैनिकी कठिन बनेको छ। सडकमा हाल गिट्टी मात्र छरिएकाले आवत–जावतमा समस्या भइरहेको छ। दैनिक विद्यालय जाने विद्यार्थी, उपचारका लागि अस्पताल धाउने बिरामीदेखि खेतबारीका उत्पादन बोकेर बजारसम्म पुग्ने किसानसम्म सबै प्रभावित भइरहेका छन्।

स्थानीयवासीहरूले पटक–पटक ध्यानाकर्षण गराए पनि सम्बन्धित निकायले पहल नगरेको भन्दै असन्तुष्टि पोखेका छन्। उनीहरूका अनुसार विकासका नाममा बजेट विनियोजन भए पनि प्रत्यक्ष लाभ पाउन नसक्दा गाउँ पछाडि धकेलिएको महसुस भएको छ।

लुम्बिनी प्रदेश सरकारले करोडौं रुपैयाँ खर्च गरेर सुरु गरेको भिमटाँडी–सरावल पहुँचमार्ग विस्तार कार्य चार वर्ष बितिसक्दा पनि अधुरै रहँदा स्थानीयवासी आक्रोशित बनेका छन्।

२०७८ वैशाखमा तीन करोड ७८ लाख रुपैयाँ लागतमा सुरु गरिएको २,२०० मिटर लामो सडक विस्तार महेश–नवीन जेभी कन्स्ट्रक्सन बर्दघाटले सोही वर्षको चैत मसान्तभित्र सम्पन्न गर्ने सम्झौता गरेको थियो। तर ठेकेदारले आर्थिक अभाव देखाउँदै काम अधुरै छाडेपछि सडक लामो समयदेखि अलपत्र बनेको हो।

सम्झौता अनुसार दुई तहमा डामर लेप (डीबीएसटी) गर्नुपर्नेमा पहिलो तहकै सतह ढिलो गरी कम्प्याक्ट नगरिँदा गिट्टी उम्किन थालेको छ। यसकै कारण सडकमा दुर्घटना बढिरहेको स्थानीय तुलसी चौधरी बताउनुहुन्छ। धुलो–हिलोले यात्रुहरूको दैनिक दुःख झन् बढेको कार्यपालिका सदस्य रामनिवास ठाकुरले बताए।

“गिट्टी थुप्रिँदा पैदलयात्रीदेखि सवारी चालकसम्म जोखिममा छन्, दुर्घटना बढेको छ तर कसैले वास्ता गरेको छैन,” कोठिलहा बासिन्दा प्रकाश कोहारले आक्रोश पोख्नुभयो। स्थानीय कृत्तानी चौधरीको भनाइ अनुसार सडक छेउका बस्ती धुलो र छरिएको गिट्टीले महिनौँदेखि पीडित छन्।

पालिका अध्यक्ष, उपाध्यक्ष ,वडा अध्यक्षदेखि प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरु दिनहुँ यही बाटो प्रयोग गर्ने भए पनि समस्या समाधानमा कसैले चासो नदेखाएको भन्दै स्थानीय झन् असन्तुष्ट बनेका छन्। “प्रदेश सरकारले कानमा तेल हालेर आँखामा पट्टी बाँधेजस्तो मौनता अपनाएको छ,” उनीहरूको आरोप छ।

सात वर्षदेखि अधुरो सडकले स्थानीयलाई सास्ती दिँदै आएकोमा अबिलम्ब काम अघि नबढाए आन्दोलन गर्ने चेतावनी जयश्री कोहारले दिनुभयो। उहाँले सडकमा छरिएका गिट्टी समाजकल्याणका लागि प्रयोग गर्ने धम्कीसमेत दिनुभयो।

स्थानीयको आक्रोश केवल अधुरो सडकमा सीमित छैन। उनीहरूको भनाइमा यो सरकारको लाचारी, ठेकेदारको मनोमानी र सार्वजनिक धनको दुरुपयोगको ज्वलन्त उदाहरण हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित