उमेश बि.क / नवलपरासी ,१७ भदौ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ भिमटाँडीदेखि सरावल गाउँपालिकासम्म जोड्ने २,२०० मिटर लामो पहुँचमार्ग विस्तार कार्य सुरु भएको चार वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसकेपछि स्थानीयवासी असन्तुष्टि व्यक्त गरेका छन्।

लुम्बिनी प्रदेश सरकारको तीन करोड ७८ लाख रुपैयाँ लागतमा २०७८ वैशाखमा सुरु गरिएको उक्त सडक निर्माण महेश–नवीन जेभी कन्स्ट्रक्सन बर्दघाटले सोही वर्षको चैत मसान्तभित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो। तर ठेकेदार कम्पनीले आर्थिक अभाव देखाउँदै काम अधुरो छाडेपछि सडक विस्तार लामो समय अलपत्र बनेको थियोे।

समय थप गर्दै २०८१ सालकाे अन्तिमतिर काम सुरु गरेपनि अधुरो काम छाेडेकाेले स्थानीय सास्ती भाेगिरहेका छन ।
निर्माण सम्झौताअनुसार सडकमा डीबीएसटी अर्थात् दुई तहमा डामर लेप गर्ने काम ठेकेदारले गर्नुपर्ने थियो। पहिलो तहमा डामर हालेर त्यसमा क्रशरले फुटाएको चिप्स छर्की कम्प्याक्ट गर्ने र पुनः दोस्रो तहमा पनि डामर र चिप्स छर्की रोलरले दबाउने प्रावधान भए पनि हाल पहिलो चरणको काम मात्रै गरिएको छ।
तर उक्त सतह राम्रोसँग कम्प्याक्ट नभएकाले गिट्टी उम्किन थालेको र त्यसका कारण सडकमा सवारी दुर्घटना बढेको स्थानीय तुलसी चाैधरीले गुनासो गर्नुभएको छ।
धुलो र हिलाेका कारण आफू र यात्रुहरू वर्षौँदेखि असुविधा भोग्दै आएकाे कार्यपालिका सदस्य रामनिवास ठाकुरले बताउनुभयो।
अधुरो सडकले दैनिक आवतजावतमा समस्या मात्र नभई दुर्घटना बढाएको काेठिलहासिन्दा प्रकाश काेहारले असन्तोष पोख्नुभएको छ। सडकमा गिट्टी थुप्रिँदा पैदलयात्रीदेखि सवारी चालकसम्मलाई जोखिम बढेको स्थानीय कृतानि चाैधरीले गुनासो पाेख्नुभयाे। वडा अध्यक्ष गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत देखि कर्मचारीहरु समेत दिनदिनै यही बाटो प्रयोग गर्ने भए पनि समस्या समाधानमा पहल नगरेको भन्दै उनीहरू थप असन्तुष्ट बनेका छन्।

प्रदेश सरकारले कानमा तेल हालेर आँखामा पट्टी बाँधेझैँ मौन बसेको आरोप लगाइएको छ। स्थानीय तह आएको ७ वर्ष नाघिसक्दा समेत पालिका पहुँचमार्ग बन्न नसक्नु सरकार ठेकेदारप्रति लाचार भएको र आर्थिक प्रलोभनमा परेको संकेत भएको स्थानीयको भनाइ छ।
अबिलम्ब काम अघि नबढाइए आन्दोलनमा उत्रिने जयश्री काेहारले चेतावनी दिँदै सडकमा छरिएका गिट्टी समाज कल्याणका लागि उपयोग गर्ने धम्कीसमेत दिएका छन्।
सडकमा दुर्घटना बढेको छ, धुलोले पैदलयात्रीदेखि चालकसम्म जोखिममा छन्। तर सवाल केवल अधुरो सडकको मात्र होइन—सार्वजनिक धनको दुरुपयोग, ठेकेदारतन्त्रको मनोमानी र सरकारको लाचारी हो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

