Rashtriya Dainik

बर्दघाटमा मृगौला पीडित बचाउ महाअभियानमा निरन्तर सहयोग

राष्ट्रिय दैनिक / नवलपरासी ,१४ भदौ

मृगौला पीडित बचाउ महाअभियानअन्तर्गत बर्दघाट नगरपालिका–१४, चौपत्ता स्थित शहीद स्मृति सामुदायिक अस्पतालमा डायलासिस सेवा सञ्चालनका लागि विभिन्न समूह, संघ–संस्था र स्थानीयवासीले निरन्तर सहयोग गरिरहेका छन्।

आज बिहान गङ्गावस्ती योग साधना केन्द्रका सदस्यहरु सक्रिय रुपमा घरदैलो अभियानमा जुटेर आर्थिक संकलन गरेका छन्। अभियानको सुरुवात नगरप्रमुख शम्भुलाल श्रेष्ठको अगुवाइमा गरिएको हो।

नगरप्रमुख श्रेष्ठले अस्पतालमा आवश्यक सिस्टम जडान र पूर्वाधार निर्माणको काम भइरहेको उल्लेख गर्दै अभियानप्रति उल्लेख्य नागरिक सहभागिता भएको बताए। उनका अनुसार, डायलासिस सेवा स्थानीय स्तरमै उपलब्ध भएमा बिरामीहरुलाई टाढा–टाढा धाउनुपर्ने बाध्यता, पालो पर्खनुपर्ने समस्या र आर्थिक बोझ कम हुनेछ।

स्थानीय माधव तिवारी, जसले मृगौला प्रत्यारोपण गरिसकेका छन्,ले भने— “यो पीडा मैले र म जस्तै धेरैले भोगेका छौँ। मानसिक तनाव त हुन्छ नै, उपचारका लागि अन्यत्र धाउनु पर्दा थप पीडा झेल्नुपर्छ। यहाँ डायलासिस सेवा सुरु हुनु पश्चिम नवलपरासीवासीका लागि बरदान सावित हुनेछ।”

यसैबीच सिर्जना आमा समूह, बर्दघाट–१५ ले रु. ३१ हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।

अभियानमा अस्पताल विकास केन्द्रका पदाधिकारी, महाअभियान कार्यदलका सदस्यहरु र विभिन्न सामाजिक संघ–संस्थाको सक्रियता रहँदै आएको छ। नगरप्रमुख श्रेष्ठले स्थानीयलाई घर आँगनमै डायलासिस सेवा उपलब्ध गराउने लक्ष्यसहित अभियान अघि बढाइएको जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित