Rashtriya Dainik

‘रुख र चारतारा’को छहारीमै रहने कण्डेलको अडान

राष्ट्रिय दैनिक / नवलपरासी ,३१ साउन ।

नेपाली कांग्रेसका नेता एवं पूर्व गृहराज्यमन्त्री देबेन्द्रराज कण्डेलले आफू जुनसुकै परिस्थितिमा पनि नेपाली कांग्रेसको विचार, सिद्धान्त र झण्डाबाट विचलित नहुने स्पष्ट अडान व्यक्त गरेका छन्।

महेशपुर निवासी कण्डेलले आफ्नो राजनीतिक यात्रा र विचारप्रति दृढ प्रतिबद्धता जनाउँदै ‘रुख’ र ‘चारतारा’ केवल पार्टीको चुनाव चिन्ह नभई प्रजातन्त्र प्राप्तिका लागि वीर सहिदहरूले बगाएको रगत तथा लाखौँ कार्यकर्ताको आस्थाको प्रतीक भएको बताएका छन्।

“मेरो आफ्नै एउटा क्लियर स्टेण्ड छ—जता हाम्रो गौरवशाली इतिहास बोकेको रुख र चारतारा रहन्छ, म सधैं त्यतै रहन्छु,” कण्डेलले भनेका छन्।

राजनीतिमा समयअनुसार विभिन्न उतारचढाव र चुनौती आउन सक्ने भए पनि सच्चा राजनीतिक कार्यकर्ताले आफ्नो विचार, सिद्धान्त र संगठनप्रतिको निष्ठा त्याग्न नहुने उनको भनाइ छ। उनले पद वा व्यक्तिगत स्वार्थका लागि विचार र सिद्धान्तसँग सम्झौता गर्ने प्रवृत्ति आफूमा नरहेको स्पष्ट पारे।

“जब सम्म मेरो शरीरमा श्वास रहन्छ, म नेपाली कांग्रेसको यही विचार, सिद्धान्त र झण्डामुनि बसेर आम जनताको सेवा गरिरहनेछु। पद पाउनका लागि विचार बेच्ने प्रवृत्ति ममा कहिल्यै आएन र आउने पनि छैन,” कण्डेलले भने।

उनले कांग्रेसका सबै निष्ठावान नेता तथा कार्यकर्तालाई एकजुट भएर संगठनलाई थप बलियो बनाउन आह्वानसमेत गरेका छन्। कुनै पनि भ्रम, प्रलोभन वा क्षणिक राजनीतिक परिस्थितिबाट प्रभावित नभई पार्टीको विचार र सिद्धान्तलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनको धारणा छ।

कण्डेलले ‘रुख र चारतारा’को छहारीमै रहेर समाज तथा देशको वास्तविक विकास र परिवर्तनका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफू सधैं जनताको सुख–दुःखमा साथमा उभिने बताएका छन्।

शेरबहादुर देउवा–गगन कुमार थापा बीचको नेतृत्वसम्बन्धी राजनीतिक विवाद र कांग्रेसभित्रको पछिल्लो शक्ति संघर्षका बीच आएको कण्डेलको यो अभिव्यक्तिलाई उनको राजनीतिक निष्ठा र संगठनप्रतिको अडिग प्रतिबद्धताको स्पष्ट सन्देशका रूपमा हेरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित