राष्ट्रिय दैनिक / नवलपरासी ,१४ भदौ
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका नारायणी नदी पारी रहेको सुस्ता भुमिमा लुम्बिनी प्रदेशका उच्च स्तरीय व्यक्तिहरुले अवलोकन सहित संवाद कार्यक्रम सम्पन्न गरेका छन।
लुम्बिनी प्रदेश प्रमुख,सभामुख,मन्त्री, सिमा विज्ञ सहितको उच्च स्तरीय निकायबाट सुस्ता भुमिको पछिल्लो अवस्था र विकास निर्माण सहित सुस्ता बासीहरुको दैनिकी बारे स्तरगत निरीक्षण गरिएको थियो।

लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती मगर,सभामुख तुलाराम घर्ती, उपसभामुख मेनुका खडका,वन तथा वातावरण मन्त्री देवकरण कलवार, सिमा विज्ञ बुद्धि नारायण श्रेष्ठ लगायतका टोलीले सुस्ताको अवलोकन गरेका थिए।

भारतीयहरुको थिचोमिचोमा परेका सुस्तामा बसोबास गर्ने नेपालीहरुको अवस्था कष्टकर भए यता झोलुङ्गे पुल निर्माण,नदी नियन्त्रणको तटबन्ध, पिसीसी ढलान सहितको सडक निर्माणले सुस्तामा विकासको परिवर्तन देखिए पनि जग्गाको नापी र नागरिकताको प्रमाणपत्र नपाउनु नै मुख्य समस्या रहेको तथा समस्या समाधानको लागि प्रदेश सरकारले पहल गर्ने माग पनि सुस्ता बासीले उठाएका थिए।
सुस्तामा शिक्षाको स्तर उन्नति, जंगे पिल्लर निर्माण गर्ने आवाज पनि सुस्ता बासीहरुले उठाएका हुन।

सुस्तामा विद्युत पुगेपनी मिटर जडान नभएबाट विद्युत आपूर्ति हुन नसक्दा सुस्ता बासीहरुको दुखेसो रहेको छ।
सो अवसरमा सुस्ता बचाउ अभियानका अध्यक्ष आदाम हुसेन खानले नेपालमा सरकारले कुर्सी बचाउने खेल मात्रै गरेकोले सुस्ता बचाउने कार्यमा राज्य गम्भीर नभएको दुखेसो व्यक्त गर्दै उनले आफुहरु प्रधानमन्त्री संग भेट गर्न काठमाडौं गएपनी भेट नभएको पीडा सुनाउनु भएको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख घर्ती मगरले सुस्ता नेपालको मुटु भएको र यो मुटुलाई रक्षा गर्नु हामी सबैको कर्तव्य रहेको धारणा राख्दै हालै बनेको झोलुङ्गे पुल तरेर आफुहरु सुस्ता आइपुग्दाको क्षणबाट सार्है प्रफुल्लित रहेको बताउनु भयो।
सो अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले ५० वर्ष पुरानो समयदेखि सुस्तामा बसोबास गर्ने नेपालीले नागरिकता नपाएको प्रती आफू गम्भीर रहेको विचार राख्दै नागरिकता नपाउनुको आधार के हो त्यसतर्फ प्रदेश सरकारले संघीय सरकारलाई आवश्यक सुझाव दिने जिकिर गर्नुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवारले सुस्ता र लिपुलेकको चासो राख्दा प्रधानमन्त्रीको पद नै धरापमा पर्ने हुँदा त्यसकारण सुस्ता समस्या समाधानको टेबुलमा नआएको प्रसङ्ग उल्लेख गर्नुभएको थियो।

सो अवसरमा सिमा विज्ञ बुद्धि नारायण श्रेष्ठले २०२२ सालदेखि सुस्ता भुमि संग आफ्नो गहिरो सम्बन्ध रहदै आएको उल्लेख गर्दै राष्ट्र,राष्ट्रियता,स्वाभिमानको रक्षा गर्दै आएका सुस्ता बासीहरुबाट नै सुस्ता भुमिको रक्षा भएको उल्लेख गर्दै श्रेष्ठले नेपालका राजनेताहरु आफ्नो कुर्सी बचाउन व्यस्त छन भने सुस्ताका नेपालीहरुले नै सुस्ता भुमी बचाएको जिकिर पनि गर्नुभयो।

लुम्बिनी प्रदेश प्रमुख समेतको उच्च पदस्त व्यक्तिहरुले सुस्ताका नेपालीहरु संग प्रत्यक्ष संवाद गर्दै सामुहिक खानपिन कार्यक्रममा सहभागी हुनुभएको कार्यक्रम सञ्चालक एवं सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जैसवालले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

