Rashtriya Dainik

भदौ १५ र १६ गरे सार्वजनिक बिदा

काठमाडौं,१४ भदौ — सुदूरपश्चिम प्रदेशमा मौलिक पर्वको गौराको रौनक छ । १२ भदौ अर्थात पञ्चमीका दिनदेखि सुरु भएको गौरा पर्वको आज तेस्रो दिन । ‘ठूली गौरा’ मनाइँदैछ । आजका दिन व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् ।

आजको दिनलाई स्थानीय भाषामा भितरीकी गौरा अथवा ठूली गौरा भनिन्छ । व्रतालु महिलाले आज गौरालाई गौरा घरमा भित्र्याउने चलन छ । व्रतालु महिला एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रहिआएको छ ।

गौराको मुख्य दिन भने भोलि हो । भोलि अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गल गानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ । गौरा महेश्वरको पूजाआजा गरी धमारी, फाग, डेउडाजस्ता गीत गाउने र डेउडा खेल्ने चलन छ ।

पौराणिक कालमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउँ भनेर बालुवाको शिवलिङ्ग बनाएर कष्टसाध्य तपस्यापश्चात् बरदान पाएर शिवलाई पति बनाउन सफल भएको धार्मिक मान्यता छ । सोहीअनुसार गौरा पर्व मनाइँदै आइएको पाइन्छ । भगवान् शिव र पार्वतीको पूजा आरधना एवम् व्रत अनुष्ठानबाट सुस्वास्थ्य एवम् शौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

यस्तै गौराको अवसरमा सुदूरपश्चिम प्रदेशमा दुई दिन बिदा छ । भदौ १५ गते अर्थात् भोलि नेपाल सरकारले गौरा पर्वको बिदा दिएको छ । थप एक दिन भन्दै सुदूरपश्चिम सरकारले भदौ १६ गते बिदा दिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित