राष्ट्रिय दैनिक /नवलपरासी, २५ असार
निरन्तर वर्षाका कारण पश्चिम नवलपरासीको दाउन्ने सडक खण्डमा सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग एकतर्फी रूपमा मात्र सुचारु भएको छ। बर्दघाट नगरपालिका–४ स्थित खुर्सानीखोलामा आज बिहान सडक करिब तीन फिट जति भासिएपछि राजमार्ग अवरुद्ध भएको थियो।
सडक भासिएसँगै सवारी साधनहरु बीच बाटोमै रोकिएका थिए। विशेष गरी यात्रुवाहक र साना गाडीहरूलाई पालैपालो आवतजावत गराउन थालिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी विरदत्त पन्तले जानकारी दिनुभयो। उहाँका अनुसार अस्थायी रूपमा माटो भराई गरेर सडकलाई एकतर्फी सञ्चालनमा ल्याइएको हो।
भासिएको ठाउँमा अड्किएको लु १ ख ५८२७ नम्बरको मालबाहक ट्रकलाई समेत क्रेनको सहयोगले हटाइएको छ।
उक्त सडकखण्डको मर्मत कार्य नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले गरिरहेको छ। यो खण्ड विगत वर्ष पनि भासिएको थियो। गत वर्षको भासिएको सडक मर्मतपछि केही समय सुचारु भए पनि यस वर्ष वर्षा सुरु भएसँगै पुनः सोही स्थानमा समस्या देखिएको हो।

पानी पर्नासाथ नारायणगढ–बुटवल सडकखण्डमा सडक भासिने, पहिरो खस्ने र चिप्लो हुने समस्या बारम्बार देखिँदै आएको छ। यसले यात्रु र सवारी चालकहरूलाई सास्ती मात्र होइन, दुर्घटनाको जोखिम पनि बढाएको छ।
स्थानीय बासिन्दाले समस्या समाधानका लागि स्थायी पूर्वाधार निर्माणमा ध्यान दिन सरकारसँग माग गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

