राष्ट्रिय दैनिक /नवलपरासी,२५ असार
निरन्तर परेको झरीले पश्चिम नवलपरासीस्थित दाउन्ने खण्डको सडक भासिएपछि बर्दघाट–दुम्किबास सडक पूर्ण रूपमा बन्द भएको छ। सडक भासिएर हिलो भरिएकाले सवारीसाधनहरू आवतजावत गर्न नसक्दा यात्रुहरू ठूलो समस्यामा परेका छन्।
बर्दघाट–दाउन्ने सडक खण्डअन्तर्गत खुर्सानी खोला नजिकको सडकको भाग भासिएपछि दुईतर्फी सवारी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुरका प्रमुख जनक बन्जराले जानकारी दिनुभयो। पानी नरोकेको र माटो चिप्लो भएकाले तत्काल मर्मत सम्भव नभएको उहाँले बताउनुभयो।
रातिदेखि रोकिएको सडक अझै खुल्न सकेको छैन। बाध्य भएर यात्रुहरू सामान बोकेर हिँड्दै जोखिमपूर्ण दाउन्ने खण्ड पार गरिरहेका छन्। सडक अवरोधका कारण पूर्वतर्फ दुम्किबास र पश्चिमतर्फ बर्दघाट क्षेत्रमा सयौं सवारी साधन जाममा परेका छन्।
नारायणघाट–बुटवल सडक विस्तार आयोजनाले पहिल्यै देखि वर्षायाममा विशेषगरी दाउन्ने खण्डमा यात्रा कठिन हुने भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्दै आएको थियो। तर, सडकको स्तरोन्नति कार्य अधुरो रहँदा वर्षा हुँदा हरेकपटक समस्या दोहोरिएको छ।
यसअघि पनि आइतबार परेको पानीका कारण सोही खण्ड १२ घण्टासम्म बन्द रहनुपरेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

