जुम्ला,२४ असार
जुम्ला जिल्लाको गुठीचौर गाउँपालिका–५, धौलीगाडस्थित ठूलो हाँका पाटनमा चट्याङ लाग्दा ठूलो संख्यामा भेडा मरेका छन्। सोमबार दिउँसो परेको चट्याङले १ सय ९७ वटा भेडा मरेको पुष्टि जिल्ला प्रहरी कार्यालय जुम्लाले गरेको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीनबाबु रेग्मीका अनुसार चरनभूमिमा रहेका भेडाको बथानमा अचानक चट्याङ खस्दा छ जना किसानका भेडा मरेका हुन्। “कुन किसानका कति भेडा मरे भन्ने विवरण संकलन भइरहेको छ,” उनले जानकारी दिए।
घटनामा सिंजा गाउँपालिका भाडगाउँका ५२ वर्षीय किसान धनबहादुर रावत घाइते भएका छन्। उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा भर्ना गरिएको छ। सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार रावतको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
स्थानीय बासिन्दाहरूका अनुसार त्यहाँ हरेक वर्ष गर्मी याममा चरनका लागि भेडा तथा बाख्रा लैजाने गरिन्छ। तर, मौसम पूर्वानुमान तथा सुरक्षा उपाय नहुँदा यसपटक ठूलो क्षति हुन पुगेको हो।
प्राकृतिक प्रकोपबाट भएको यो क्षति न्यूनीकरण गर्न स्थायी समाधान र जोखिम न्यूनीकरण उपायहरू आवश्यक रहेको स्थानीयको भनाइ छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

