Rashtriya Dainik

प्रधानमन्त्रीका सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौँ ,२४ असार

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेका छन्।

मंगलबार बिहान तिब्बततर्फबाट रसुवामा आएको भीषण बाढीले क्षति पुर्‍याएपछि उनले पूर्वनिर्धारित सार्वजनिक कार्यक्रमहरू स्थगित गरेका हुन्। प्रधानमन्त्री ओली आज कृषि तथा पशुपंक्षी विकास विभाग र नेपाल उद्योग परिसंघको कार्यक्रममा सहभागी हुँदै थिए।

प्रधानमन्त्री ओलीले आपतकालीन सहायता उपलब्ध गराउन समन्वय गरिररहेका कारण सार्वजनिक कार्यक्रम स्थगित गर्नुपरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्। ‘तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको छ।’

उनले सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी हुन नदिन निर्देशन पनि दिएका छन्। ‘यस दुःखद क्षणमा अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरू स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धारकार्यबारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु। विपद् सम्भावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको छ।’

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित