राष्ट्रिय दैनिक /नवलपरासी,२३ असार
साना व्यवसायीहरूको हक, हित र सहकार्यमा क्रियाशील साप्ताहिक हाटबजार व्यवसायी संघ, पश्चिम नवलपरासीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कपडा व्यवसायी स्व. मोहम्मतईसा मियाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।
विगत चार दशकभन्दा बढी समयदेखि साप्ताहिक हाटबजारमा कपडा व्यवसाय गर्दै आउनुभएका मोहम्मतईसा मियाको क्यान्सर रोगका कारण गत चैत्र महिनामा निधन भएको थियो। पारिवारिक अवस्था कमजोर रहेको जानकारी पाएपछि संघले शोकसन्तप्त परिवारलाई रु. १०,००० को आर्थिक सहयोग प्रदान गरेको हो।
संघका अध्यक्ष सागर विक (शिशिर)ले सोमबार बर्दघाट–७, माकरस्थित सोमबारे हाटबजारमा आयोजित कार्यक्रममा मियाकी पत्नी फैजुन निसा मियालाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। उहाँले भने, “साना व्यवसायीहरू बीच सहकार्य र संवेदनशीलता आवश्यक छ। आज सहयोग गर्ने परम्पराको सुरुवात भएको छ, अबदेखि दुःख–सुखमा व्यवसायीहरू एकअर्काको साथमा हुनेछन्।”
कार्यक्रममा संघकी उपाध्यक्ष अञ्जली कोईरालासहित स्थानीय व्यवसायीहरू, बजार प्रतिनिधि तथा स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो।
स्व. मियाको घर परिवार अहिले चार सदस्यीय संयुक्त परिवारको रूपमा बर्दघाट–७, जिमिरेभारमा बसोबास गर्दै आएको छ।
साना व्यवसायीहरूको पीडामा सहानुभूति र सहयोगको हात दिने उद्देश्यले सुरु गरिएको यो पहल भावी दिनमा अझै प्रभावकारी हुने विश्वास संघले व्यक्त गरेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

