उमेश बि.क /नवलपरासी,२२ असार
बालबालिकाको हक, संरक्षण, सहभागिता र विकासलाई सुनिश्चित गर्ने उद्देश्यसहित सरावल गाउँपालिका वडा नं. २ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ।
यही असार २८ गते शनिबार, मनरी स्वास्थ्यचौकीको प्रांगणमा एक औपचारिक कार्यक्रमका बीच उक्त घोषणा गरिने तयारी गरिएको छ।

यस महत्वपूर्ण निर्णयको घोषणा बालमैत्री स्थानीय शासन वडा समितिको बैठकबाट गरिएको हो, जसको संयोजकत्व कार्यवाहक वडाध्यक्ष तुफानीलाल गुप्ताले गरेका छन्। बैठकको सहजिकरण बालमैत्री स्थानीय शासन राष्ट्रिय सहजकर्ता शर्मिला पौडेल र सरावल गाउँपालिका बाल सहजकर्ता सन्जय माैर्यले गर्नुभएको हो।

बैठकमा वडास्तरीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरूदेखि सरकारी निकायका प्रमुखसम्मको उल्लेखनीय सहभागिता रहेको थियो।

यस घोषणासँगै वडा नं. २ बालमैत्री योजना, नीति तथा कार्यक्रम कार्यान्वयनमा उदाहरणीय बन्ने अपेक्षा गरिएको छ। बालमैत्री स्थानीय शासन अन्तर्गत बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, सहभागिता र सशक्तिकरणमा केन्द्रित पहलहरू अघि बढाइनेछ।

कार्यवाहक वडाध्यक्ष गुप्ताका अनुसार, “यो घोषणा केवल औपचारिकता होइन, बालबालिकाको उज्वल भविष्य निर्माणतर्फको गम्भीर प्रतिबद्धता हो।”

बालमैत्री स्थानीय शासनको घोषणाले स्थानीय तहमा बालबालिकाको अधिकार सुनिश्चित गर्दै समावेशी र उत्तरदायी शासन प्रणाली निर्माणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

