Rashtriya Dainik

सातै प्रदेशले आज ल्याउँदैछन् वार्षिक बजेट

काठमाडौं ,१ असार

देशका सातवटै प्रदेश सरकारले आज (आइतबार) आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै छन्। संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागेका हुन्।

संविधानमा संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्ने व्यवस्था गरिएको छ। त्यसैगरि स्थानीय तहहरूले असार १० गतेपछि बजेट ल्याउने गरेका छन्।

प्रदेश सरकारहरुले चालू आवको कुल बजेट दुई खर्ब ७८ अर्ब ७० करोडकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन्।

कोसी प्रदेशले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिएर बजेट ल्याउने तयारी गरेको छ।

कोसीमा चालू आवका लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट प्रस्तुत गरेको थियो। आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने बजेट ३५ देखि ४० अर्ब हाराहारीमा हुने त्यहाँको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

त्यसैगरि मधेस प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा ठूलो आकारको बजेट ल्याउने तयारी गरेको। गत वर्ष मधेस सरकारले ४३ अर्ब ८९ करोड २१ लाखको बजेट ल्याएको थियो।

त्यसैगरि बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ मा बजेटको आकार करिब पाँच प्रतिशत बढाउने तयारी गरेको छ।

आइतबार दिउँसो तीन बजे हेटाैँडास्थित प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दन काफ्लेले बजेट सार्वजनिक गर्दै छन्। चालू आवमा बागमतीले ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

त्यसैगरि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टंकराज गुरुङले आइतबार दिउँसो चार बजे प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दैछन्। गण्डकीमा चालू आवको तुलनामा करिब एक अर्ब घटाएर बजेट ल्याउने तयारी छ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारले आइतबार दिउँसो तीन बजे प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्दैछन्।

लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षमा ३८ अर्ब ९७ करोडको बजेट ल्याइएको थियो। आगामी वर्षको बजेट गत वर्षभन्दा घटाएर ल्याउने तयारी सरकारले गरेको छ।

कर्णालीले भने चालू आवकै हाराहारीमा आगामी आवका लागि बजेट ल्याउने तयारी गरेको छ। चालू आवमा कर्णालीमा ३१ अर्ब ४१ करोड ४१ लाखको बजेट सार्वजनिक भएको थियो।

त्यसैगरि सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सभा बैठकमा आज बजेट सार्वजनिक गर्नेछन्। कर्णाली सरकारले गत वर्ष ३१ अर्ब ५३ करोड ६६ लाखको बजेट ल्याएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित