उमेश बि.क / नवलपरासी ,३१ जेठ
पश्चिम नवलपरासीमा लामो समयदेखि पानी नपर्दा चापाकल समेत सुकेका छन् । लामो समय पानी नपर्दा किसानले भूमिगत पानी (ट्युबेल) को प्रयोग गरी धानको ब्याड तथा राेपाई गर्दै आएका कारण अहिले तराईमा चापाकलमा पानी नआउने समस्या बढेको छ ।
अहिले अत्यधिक गर्मी बढेपछि खानेपानीको अभाव हुन थालेको छ। खानेपानीको मुख्य स्रोत चापाकल धमाधम सुक्न थालेपछि पानीको समस्या हुन थालेको हो।
जेठ अन्तिम साता भएलगत्तै चापाकलमा पानी सुक्ने समस्या देखिन थालेको स्थानीयवासीले बताएका छन्। पश्चिम नवलपरासीमा पानीको मुख्य स्रोत चापाकल सुक्न थालेपछि स्थानीयलाई नुहान तथा कपडा धुन समस्या परेकाे छ।
अहिले नवलपरासी ,रुपन्देहीकाे अधिकांश गाउँमा पानीको समस्या देखिएको छ।
चापाकल सुक्न थालेपछि विद्युतीय मोटरले समेत पानी तान्न छोडेको सरावल गाउँपालिका- ३ निवासी राजेन्द्र बि.कले बताए। उनका अनुसार मोटरले पानी तान्न छोडेपछि पानीको जोहो गर्न बाल्टी र बोतल बोकेर घुम्नुपर्ने अवस्था आएको छ।
‘ मोटरले पानी तान्न छोडेको छ, बाेरिङकाे पानीले सिचाइ गरी खेतीपाती गर्नाले चापाकलकाे पानी सुकेको ,’ बि.क ले भने।
अत्यधिक गर्मिले नदी, तलाउ र पोखरीको पानी समेत सुकेकाले सहज रूपमा खाना पकाउन, लुगा धुन तथा नुहाइधुवाइ गर्न अहिले समस्या भएको सरावल ४ काे आलिया खाँले बताइन ।
बाेटविरुवा तथा सामुदायिक जंगलको फँडानी, ढुंगा, गिटी र बालुवाको अवैध उत्खनन र जथाभावी बाेरिङ जडान जस्ता कार्यले पनि पानीको समस्या निम्त्याएको विज्ञहरूको भनाइ छ। पानीको अत्यधिक माग रहेकाले त्यसलाई नियन्त्रण गर्ने अर्को विकल्पका रूपमा आकाशे पानीको संकलन भरपर्दो उपाय हुन सक्ने विज्ञहरू बताउँछन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

