Rashtriya Dainik

महेशपुर नालाको सफाइ : जनसहयोगमा सुरु, सवारी आवागमन केही समय रोकिँदा अप्ठ्यारो

विनोद निगम/ नवलपरासी १६ जेठ

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–१ स्थित महेशपुर नालाको सफाइ कार्य सुरु भएपछि केही समयका लागि दुबै तर्फ सवारी आवागमनमा असहजता भएको छ। यद्यपि, स्थानीय बासिन्दाहरूले वैकल्पिक रूपमा विप्लव बाटो प्रयोग गरी आवतजावत गरिरहेका छन्।

स्थानीय सरकारले पटक–पटक अनुरोध गर्दा पनि नाला सफाइ र सडक मर्मतमा चासो नदेखाएपछि स्थानीयहरू आफैं जुटेर यो कार्य अघि बढाएका हुन्। महेशपुर ठुठीबारी मुख्य भन्सार नाका जाने बाटोमा पर्ने यो नालाको तीन वर्षदेखि सफाइ नभएको भन्दै स्थानीयहरूले आक्रोश पोखेका छन्।

स्थानीयवासीहरुले भने, “हामीले पटकपटक वडा कार्यालय र गाउँपालिकामा विकासका लागि आग्रह गर्यौं। तर, उनीहरूले सुन्नै चाहेनन्। अन्ततः हामीले आफैँ मिलेर आफ्नो गाउँ सुन्दर र सफा बनाउने निर्णय गर्यौं।”

जनताको मत लिएर सत्तामा पुगेका जनप्रतिनिधिहरू विकासभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित भएको आरोपसमेत स्थानीयहरूले लगाएका छन्। “वडादेखि गाउँपालिकासम्म बजेट पचाउने काम भइरहेको छ,” एक स्थानीय बासिन्दाले गुनासो गरे।

सडक अवरुद्ध हुँदा केही समयका लागि सवारी साधनलाई असुविधा भए पनि नागरिकहरूले सहनशीलता देखाउँदै सामूहिक प्रयासमार्फत गाउँको विकासमा हातेमालो गरिरहेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित