सुरेश यादव / नवलपरासी ,६ जेठ पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको आठौँ मेयर कप फुटबलको उपाधि वडा नम्बर ८ ले जितेको छ। मंगलबार भएको रोमान्चक फाइनल खेलमा दुबै तर्फबाट निर्धारित समयमा गोल हुन नसकेपछि खेल ट्राईबेकरमा पुगेको थियो । ट्राइबेकरमा वडा नम्बर ८ ले वडा नम्बर-३ लाई ६-५ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।यो जितसंगै वडा नम्बर-८ चौथो पटक मेयर कपको उपाधि जित्न सफल भएको छ । चौथो पटक उपाधी जितेको वडा नम्बर ८ ले नगद १ लाख ५५ हजारसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको वडा नम्बर ३ ले नगद ९० हजारसहित ट्रफी हात पारेको छ। यस्तै सेमिफाइनलमा पुगेका दुई टिम वडा नम्बर १३ र आयोजक वडा नम्बर-७ “बि” ले २५/२५ हजार रुपैया प्राप्त गर्न सफल भएका छन्। त्यसैगरि फाइनल खेलमा म्यान अफ द म्याच सनम तामाङ घोषित भएको आयोजक समितिका सचिव खड्ग रानाले जानकारी दिएका छन् । विधागत रुपमा उत्कृष्ट गोलकिपर वडा नम्बर-८ का सन्देश गुरुङ, सर्वोत्कृष्ट खेलाडी-वडा नम्बर-८ का बिक्रम मल्लाह र सार्वाधिक गोलकर्ता वडा ३ का तनिस गुरुङ घोषित भएका छन् । नवौं मेयर कप फुटबल प्रतियोगिता २०८३ आगामी बर्ष वडा नम्बर-१३ मा आयोजना हुने जनाएको छ ।