Rashtriya Dainik

नेपाली भूमि सुस्तामा एसएसबी देखिएपछि विवाद

बिनोद निगम / नवलपरासी , ३० जेठ

नेपाल–भारत सीमा विवादसँग जोडिएको संवेदनशील क्षेत्र सुस्ता शुक्रबार बिहान पुनः चर्चामा आएको छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारू टोल नजिक भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मी नेपाली भूभागतर्फ प्रवेश गरेको भन्दै स्थानीयवासीले विरोध जनाएपछि केही समय तनावको अवस्था सिर्जना भएको थियो। पछि नेपाली तथा भारतीय सुरक्षाकर्मीको समन्वय र पहलमा स्थिति सामान्य बनेको थियो ।

स्थानीयका अनुसार शुक्रबार बिहान करिब ७ बजेतिर ६ देखि ७ जनाको सङ्ख्यामा रहेका भारतीय एसएसबीका सुरक्षाकर्मी सीमा क्षेत्रको खोला तथा पानी जमेको भाग पार गर्दै नेपाली भूभागतर्फ आएको देखिएको थियो। नेपाली भूमिमा विदेशी सुरक्षाकर्मी देखिएपछि स्थानीयवासीहरू तत्काल घटनास्थलमा पुगेका थिए। स्थानीयले उनीहरूलाई नेपाली भूमिमा प्रवेश गर्नुको कारण सोध्नुका साथै आफ्नो क्षेत्रबाट फर्किन आग्रह गरेका थिए।

स्थानीयवासीका अनुसार भारतीय सुरक्षाकर्मीहरू नेपाली भूभागमा प्रवेश गरेको देखिएपछि केही समय भनाभन र विवादको अवस्था उत्पन्न भएको थियो। स्थानीयले आफ्नो भूमि र सार्वभौमिकतासँग जोडिएको विषय भएकाले कुनै पनि विदेशी सुरक्षाकर्मीलाई अनुमति बिना नेपाली भूमिमा प्रवेश गर्न नदिने अडान लिएका थिए। त्यसक्रममा स्थानीयवासी एकजुट भई विरोधमा उत्रिएपछि भारतीय सुरक्षाकर्मीहरू सीमा क्षेत्रतर्फ फर्किएको दाबी गरिएको छ।

घटनापछि क्षेत्र केहीबेर तनावग्रस्त बनेको भए पनि सूचना पाएलगत्तै नेपाली सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए। त्यसपछि दुवै देशका सुरक्षाकर्मीबीच समन्वय भएको र स्थिति थप जटिल हुन नदिई समाधानतर्फ लगिएको बताइएको छ।

यस विषयमा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज घिमिरे ले भारतीय सुरक्षाकर्मीको टोली नियमित गस्तीका क्रममा सीमा क्षेत्र नजिक पानी जमेको स्थान पार गर्ने क्रममा नेपालतर्फ आएको जानकारी प्राप्त भएको बताए। उनले नेपाली सुरक्षाकर्मी तत्काल घटनास्थलमा परिचालन गरिएको र हाल सुस्ताको अवस्था पूर्ण रूपमा सामान्य रहेको स्पष्ट पारे।

भारतीय सुरक्षाकर्मीको टोली नियमित गस्तीमा रहेको अवस्थामा सीमा नजिक पानी जमेको क्षेत्र पार गर्ने क्रममा नेपालतर्फ आएको देखिएको हो। नेपाली सुरक्षाकर्मी तत्काल पुगेपछि अवस्था सामान्य बनेको छ,प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।

यता, स्थानीयहरुको अनुसार बिहान भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा देखिएपछि स्थानीयवासीले आपत्ति जनाएको छ । स्थानीयले भारतीय पक्षलाई आफ्नो भूमिमा प्रवेश नगर्न आग्रह गरेपछि केही समय विवादको अवस्था सिर्जना भएको थियो। पछि दुवै पक्षका सुरक्षाकर्मीको पहलमा समस्या समाधान भएको स्थानीयहरूले बताए।

पछिल्ला केही दिनयता भारतीय पक्षको गतिविधि सुस्ता क्षेत्रमा बढ्दै गएको भन्दै स्थानीयवासीहरूमा चिन्ता बढेको उल्लेख गरे। उनले सीमा क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै यस्ता घटनाप्रति नेपाल सरकार र सुरक्षा निकाय गम्भीर हुनुपर्ने बताए।

सुस्ता क्षेत्र नेपाल–भारत सीमा विवादसँग जोडिएको देशकै संवेदनशील क्षेत्रमध्ये एक मानिन्छ। नारायणी नदीको धार परिवर्तनसँगै वर्षौंदेखि यहाँ सीमा सम्बन्धी विवाद रहँदै आएको छ। समय–समयमा दुवै देशका सुरक्षाकर्मीको गतिविधि, सीमा स्तम्भको अवस्था तथा स्थानीयवासीको आवतजावतका विषयलाई लिएर विवाद र तनाव उत्पन्न हुने गरेका छन्।

स्थानीयवासीका अनुसार हालै मात्र सुस्ता क्षेत्रमा निर्माणाधीन तटबन्धको कामलाई लिएर पनि भारतीय पक्षले चासो देखाएको थियो। यस्ता घटनाले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूमा असुरक्षाको भावना बढाउने भएकाले कूटनीतिक तथा सुरक्षा संयन्त्रमार्फत दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

शुक्रबारको घटना भने नेपाली र भारतीय सुरक्षाकर्मीको समन्वयमा तत्काल समाधान भएकाले हाल क्षेत्रको सुरक्षा अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। तर सुस्ता जस्तो संवेदनशील क्षेत्रमा यस्ता गतिविधि दोहोरिन नदिन दुवै देशका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र स्पष्ट कार्यविधिको आवश्यकता रहेको स्थानीयवासीले बताएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित