सुर्खेत । आइतबार सुर्खेतको भेरीगंगा नगरपालिका—१२, झिंगेनारा खोलामा मृत भेटिएकी प्रेमा वलीको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार हत्या गर्ने उनकै श्रीमान् २९ वर्षीय दर्शन खत्री रहेछन् ।
उनले प्रेमाको हत्या आफैंले गरेको प्रहरीसमक्ष बयान दिएपछि घटनाको रहस्य खुलेको हो । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय वलीको शव भेरीगंगाको झिगेनारा खोलामा पानीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो ।
मृत भेटिएकी ओलीको बेलुका मात्रै घटनास्थलमा पुगेका आफन्तले शव पहिचान गरेका थिए । आइतबार बिहान १० बजेतिर जङ्गलमा थाकलको खजुरी टिप्न गएका स्थानीयहरूले खोल्सामा शव देखेपछि छिन्चु प्रहरीलाई खबर गरेका थिए ।
लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धान थालेको थियो । अनुसन्धानका लागि प्रहरीको केनाइन शाखा नेपालगन्जबाट कुकुरसहितको टोलीसमेत ल्याइएको थियो ।
आइतबार बेलुका नै हत्या आशङ्कामा श्रीमान् दर्शन खत्रीलाई नियन्त्रणमा लिइएको सुर्खेत प्रहरीले जनाएको छ । उनले प्रेमाको आफैंले हत्या गरेको प्रहरीसमक्ष बयान दिए ।
पक्राउ परेका गुर्भाकोट नगरपालिका–५, का दर्शन खत्री नेपाली सेनामा कार्यरत रहेका छन् । हाल उनी काभ्रेको वीरदल गणमा कार्यरत रहेको बताइएको छ ।
दर्शन र वडानम्बर ६, मेहलकुनाकी प्रेमाबीच ७ वर्षअघि प्रेम विवाह भएको थियो । विवाह लगत्तै दर्शनले नेपाली सेनामा नाम निकालेका थिए । त्यसपछि सेनामा कार्यरत दर्शनले अर्की केटीलाई मनपराउन थाले ।
उक्त कुरा घरपरिवार हुँदै प्रेमाले माइतीसम्म पुर्याइन् । सोही घटनाबाट उनीहरुबीच अविश्वास बढेको पाइएको छ । दुवै जनाले एक अर्कामाथि गर्ने शंकाले नै शनिबारको घटना हुन पुगेको प्रहरीको निष्कर्ष छ । दर्शनले
ढुङ्गाले प्रेमाको टाउकोमा प्रहार गरेको र त्यसपछि सलले गलामा कसेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । मृत्यु भएपछि शव पानीको खाल्डोमा फालेको पनि उनको बयान छ । दर्शनमाथि अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

