Rashtriya Dainik

त्रिवेणीलाई मूल भन्सार बनाइँदै

गण्डकी प्रदेशलाई भारतसँग जोड्ने त्रिवेणी छोटी भन्सारलाई मूल भन्सार कार्यालयमा स्तरोन्नति गर्ने काम सुरु भएको छ । भारतसँग जोडिने गण्डकी प्रदेशको एउटै मात्र नाका हो यो । सरकारले गत भदौमा त्रिवेणी छोटी भन्सारलाई स्तरोन्नति गरेर मूल भन्सार बनाउने निर्णय गरेको थियो ।

भन्सारको स्तरोन्नतिका लागि जग्गा अधिग्रहण, कर्मचारी व्यवस्थापन र भौतिक पूर्वाधारको रूपरेखाको काम सुरु भएको भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले बताए । अहिले भाडामा घर लिएर कार्यालयको काम सुरु भएको उनको भनाइ छ ।

कार्यालयका लागि ११ कर्मचारी तोकिए पनि सात मात्रै कार्यरत छन् । भारतसँग जोडिने त्रिवेणीस्थित गण्डक ब्यारेज (पुल) को उत्तरी किनारमा भन्सार कार्यालय राख्न जग्गा खोज्ने काम भइरहेको उनले जानकारी दिए । भन्सार कार्यालय (चेकपोस्टसमेत) राख्ने भनिएको स्थानमा चारैतिर गण्डक नहरको जग्गा रहेको र त्यसबाहेक वन क्षेत्रको जग्गा रहेकाले नम्बरी जग्गा खरिदका लागि पहल सुरु भएको हो । त्रिवेणीसँग सीमा जोडिएको भारतको वाल्मीकि नगरमा भारत सरकारले संरचना निर्माण गरिसकेको छ ।

केही दिनमै वाल्मीकि नगरमा भारतीय समकक्षीसँग दुवै देशका भन्सारको स्तर र कार्यप्रगतिबारे छलफलको तयारी भइरहेको उपाध्ययाले बताए । भन्सार कार्यालय, कर्मचारी आवास, गोदाम, यात्रु शाखा, गाडी पार्किङ, तौलकाँटा राख्ने स्थान, सुरक्षा निकायको कार्यालय, बैंकलगायत संरचना निर्माणका लागि कम्तीमा डेढ सय बिघा जग्गा आवश्यक पर्नेछ । जिल्ला प्रशासनमा हालै सम्पन्न बैठकले भन्सार कार्यालयलाई व्यवस्थित र चाँडो काम थाल्ने निर्णय गरिएको छ ।

भन्सारप्रति प्रदेश सरकारले पनि चासो देखाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक साताअघि त्रिवेणी भन्सारको स्थलगत निरीक्षण गरेर त्यहाँको अवस्था र कार्यप्रगतिबारे जानकारी लिएका छन् । त्यसअघि पटकपटक अर्थ मन्त्रालय र भन्सार विभागका महानिर्देशकले निरीक्षण गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित