शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो। शिक्षाको अभावमा समृद्धि असम्भव छ, र शिक्षाको गुणस्तर शिक्षकहरूको समर्पणमा निर्भर हुन्छ। शिक्षक केवल ज्ञान दिने माध्यम मात्र होइनन्, तिनीहरू नै समाजका आधारशिला हुन्, जसले देशको भविष्य निर्माण गर्छन्। तर, दुःखको कुरा के छ भने, नेपालमा शिक्षकहरूलाई आवश्यक सम्मान, सुविधा, र समर्थन प्रदान गर्नेभन्दा पनि आलोचना गर्ने प्रवृत्ति बढ्दो छ।
हालै, प्रधानमन्त्री केपी ओलीको एक अभिव्यक्तिले लाखौं शिक्षकको मन दुखाएको छ। “शिक्षकहरूले विद्यार्थीलाई जानाजानी असफल बनाउँछन्” भन्ने धारणा गलत मात्र होइन, अत्यन्तै अपमानजनक पनि हो। शिक्षाको गुणस्तर कमजोर हुनुमा शिक्षकलाई मात्र दोष लगाउनु न्यायसंगत छैन। शिक्षकहरूले विद्यार्थीलाई असफल बनाउने होइन, बरु उनीहरूलाई सफल बनाउने सपना देख्छन्, प्रयास गर्छन्, र आफ्ना साना उपलब्धिमा समेत गर्व गर्छन्।
शिक्षक: संघर्ष र समर्पणको कथा
नेपालका शिक्षकहरू बिहान चार-पाँच बजे नै उठ्छन्। कोही गाईभैंसीलाई घाँस काट्छन्, कोही घरको दैनिकी सिध्याएर पढाउने तयारी गर्छन्। कयौं शिक्षकहरू टाढाबाट पैदल हिँडेर विद्यालय पुग्छन्, किनभने विद्यालयसम्म पुग्ने राम्रो बाटो छैन, यातायातको सुविधा छैन। विद्यालय पुगेपछि पनि उनीहरू केवल पढाउने काममा सीमित हुँदैनन्—विद्यार्थीको अभिभावक, मित्र, र मार्गदर्शकको भूमिका समेत निर्वाह गर्छन्।
तर, विडम्बना! यस्ता समर्पित शिक्षकहरूलाई तलब सुविधा त पक्कै छैन, बरु आलोचना र गालीचाहिँ प्रशस्त छ। शिक्षालाई मूल प्राथमिकता दिनुपर्ने सरकारले उल्टै शिक्षकलाई दोषी देखाउने रवैया अपनाउनु गम्भीर चिन्ताको विषय हो।
शिक्षाको वास्तविक समस्या के हो?
नेपालको शिक्षामा समस्या छैन भन्नु हास्यास्पद हुन्छ। तर, शिक्षाको प्रमुख समस्या शिक्षक होइनन्, बरु राज्यले शिक्षालाई प्राथमिकता नदिएको अवस्था हो। आज पनि हजारौं विद्यालयहरूमा राम्रो भवन छैन, कतिपय ठाउँमा विद्यार्थी खुला आकाशमुनि बसेर पढ्न बाध्य छन्। कतिपय विद्यालयमा गुणस्तरीय सिकाइ सामग्रीको अभाव छ, आधुनिक प्रविधिको प्रयोग न्यून छ, अनि शिक्षकहरूलाई प्रशिक्षण दिने पर्याप्त अवसरहरू छैनन्।
यस्तो अवस्थामा पनि शिक्षकहरूले जस्तोसुकै कठिनाइ सहेर विद्यार्थीहरूलाई शिक्षित बनाउन आफ्नो जीवन समर्पित गरिरहेका छन्। शिक्षकको निष्ठालाई प्रश्न उठाएर होइन, बरु शिक्षालाई सुधार्ने उपाय खोजेर मात्र नेपाललाई समृद्ध बनाउन सकिन्छ।
शिक्षकलाई दोष लगाउने होइन, सम्मान गर्ने नीति आवश्यक छ
कुनै पनि राष्ट्रले शिक्षकलाई दिएको सम्मानले त्यो राष्ट्रको भविष्य निर्धारण गर्छ। विश्वका सफल देशहरूले शिक्षालाई पहिलो प्राथमिकता दिएका छन्, शिक्षकलाई उच्चस्तरीय सम्मान प्रदान गरेका छन्। नेपालले पनि यस्तै बाटो अपनाउन जरुरी छ।
यदि सरकारले साँच्चिकै शिक्षाको स्तर सुधार्न चाहन्छ भने, पहिलो कदम भनेको शिक्षकलाई उचित सम्मान, सुविधा, र प्रेरणा प्रदान गर्नु हो। शिक्षकहरूलाई दोषी देखाएर होइन, बरु उनीहरूलाई सक्षम बनाएर मात्र देशको भविष्य उज्यालो बनाउन सकिन्छ।
तलब सुविधा बढाउन सकिँदैन भने पनि, कम्तीमा शिक्षकको मान-मर्यादा घटाउने गतिविधि नगरौं। शिक्षालाई सम्मान गरौं, शिक्षकलाई सम्मान गरौं—यही नेपालको समृद्धिको आधारशिला बन्नेछ।
– जाहिद खान
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

