आरपि उपाध्याय / नवलपरासी ,११ फागुन
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्र राज कंडेलले लोकतान्त्रिक पद्धतिलाई कमजोर बनाउने तत्वहरु चलखेल गर्न थालेको बताउनु भएको छ।
केन्द्रिय सदस्य कंडेलले पार्टीभित्र मौलाएको गुटबन्दीको राजनीतिलाई समाप्त पारी एकताबद्ध रुपमा अगाडि बढ्न सबैमा आग्रह गर्दै पार्टीभित्रको असमझदारीलाई सहमति छलफल र एकताको माध्यमबाट पार्टीलाई उर्जावान बनाउन सकिने धारणा पनि राख्नुभयो।
उहाँले राष्ट्र सेवक कर्मचारीहरुले सरकारले दिएको निर्देशन र भावना अनुसार कार्य गर्न सबै राष्ट्र सेवकहरुलाई आग्रह पनि गर्नुभएको थियो।

नेपाल निजामती कर्मचारी युनियन (ब.स.प.) को आयोजनामा सुनवल स्थित हिल पार्कमा आयोजित वनभोज तथा प्रमाणपत्र वितरण कार्यक्रममा पुर्व मन्त्री कंडेलले सो कुरा बताउनु भएको हो।
सो अवसरमा नेपाल कर्मचारी युनियनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले कठोर मेहनतका साथ निर्माण गरिएको नेपाल निजामती कर्मचारी युनियनलाई सबैको सामुहिक प्रयासबाट गन्तव्यमा पुर्याउन सकिने बताउदै युनियनभित्र रहेर युनियनलाई कमजोर बनाउने कार्य असहनिय हुने बताउनु भयो।
नेपाल निजामती कर्मचारी युनियन (ब.स.प.) का अध्यक्ष सुन्दर खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावल,केन्द्रिय उपमहासचिव ईन्दु शर्मा, बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठ लगायतले युनियनको गतिविधिमाथि प्रकाश पार्नुभएको युनियनका जिल्ला सचिव एवं कार्यक्रम सञ्चालक कमल अर्यालले जानकारी दिनुभयो।
नेपाल निजामती कर्मचारी युनियन पश्चिम नवलपरासीमा ४ सय १७ राष्ट्र सेवक आबद्ध रहेको निवर्तमान अध्यक्ष सनथ गिरीले बताउनु भएको छ।

कार्यक्रममा युनियनको नवौं जिल्ला अधिवेशनबाट सर्वसम्मत चयन हुनुभएका पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

सो अवसरमा सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय, प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, युनियनका केन्द्रिय पदाधिकारी र केन्द्रिय सदस्य सहित छिमेकी जिल्लाबाट युनियनका अध्यक्ष र प्रतिनिधिहरुको पनि उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

