Rashtriya Dainik

नवलपुरकाे कावासाेती १५ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

कावासाेती,९ फागुन

नवलपुर जिल्लाको कावासोती-१५ स्थित थारु कम्युनिटी लज कावासाेती १५ मा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
नवलपुर पर्यटन समितिकाे आयाेजना र नेशनल सिटी अस्पताल प्रा.लि. को प्राविधिक सहयोगमा सम्पन्न यस शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए।

शिविरमा सेवा प्रदान गर्ने चिकित्सकमध्ये डा. गाैरीराम महतो ( वरिष्ठ फिजिसियन), डा. याेगेशराज पन्त ( वरिष्ठ हाडजोर्नी विशेषज्ञ), डा. याेगेन्द्र देवकोटा (वरिष्ठ सर्जन), डा. दामोधर तिवारी (वरिष्ठ बालरोग विशेषज्ञ), डा. जानबी भण्डारी ( वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ), डा. अमीत चौधरी ( वरिष्ठ सर्जन ), डा. शिला चौधरी (वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ), लगायतका स्वास्थ्यकर्मी सहभागी भएका थिए।

नवलपुर पर्यटन समितिका अध्यक्ष फन्साराम महतो का अनुसार शिविरमा २६० जनाले स्वास्थ्य परीक्षण गराएका थिए। बिरामीहरूलाई निःशुल्क औषधि वितरणसमेत गरिएको थियो।

शिविरमा उपचार गराएका स्थानीय बलिराम गुराै भन्छन्, “हामीजस्ता गाउँघरका मान्छेहरूका लागि यस्तो स्वास्थ्य शिविर निकै लाभदायक छ। महँगो शुल्क तिरेर अस्पताल जान सम्भव नहुने अवस्थालाई यस शिविरले सहज बनाएको छ।”

यस्तै, स्वास्थ्य परीक्षण गराएकी बालकुमारी काफ्ले ले भनिन्, “महिलाहरूका लागि यस्तो शिविर झन् महत्वपूर्ण छ। स्त्रीरोग विशेषज्ञहरूसँग निःशुल्क परामर्श पाउन पाउँदा निकै खुसी लाग्यो।”

स्वास्थ्यकर्मी तथा आयोजकहरूका अनुसार ग्रामीण क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन यस्ता निःशुल्क स्वास्थ्य शिविर अत्यन्त जरुरी छ।
नवलपुर पर्यटन समितिका अध्यक्ष फन्साराम महतो का अनुसार भविष्यमा पनि यस्ता स्वास्थ्य शिविर आयोजना गर्दै जाने योजनामा समिती रहेको बताउनु भएकाे छ।

निःशुल्क स्वास्थ्य शिविरहरूले विशेष गरी ग्रामीण भेगका सर्वसाधारणलाई ठूलो राहत पुर्‍याउने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्नुपर्ने आवाज उठिरहेको छ। स्वस्थ समाजका लागि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिनुपर्ने सहभागीहरूको धारणा रहेको छ।

शिविरको सफल सञ्चालनका लागि थारु कम्युनिटी लज, थारु गाउँ रिसाेर्ट , रेन फरेस्ट लज र बराैली कम्युनिटी होमस्टे को सहकार्य रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित