Rashtriya Dainik

अजरबैजान एयरलाइन्सको विमान काजकिस्तानमा दुर्घटना, २५ जनाको जीवितै उद्धार

काठमाडौं । अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नी जाँदै गरेको अजरबैजान एयरलाइन्सको यात्रुवाहक विमान काजकिस्तानको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।

काजकिस्तानको यातायात मन्त्रालयका अनुसार बुधवार भएको घटनामा विमान आक्टाउ सहरको नजिकै खसेको हो । आक्टाउ काजकिस्तानको क्यास्पियन सागरको पूर्वी किनारमा रहेको प्रमुख तेल तथा ग्यास केन्द्र हो ।

यातायात मन्त्रालयले दिएको जानकारीअनुसार विमान अजरबैजान एयरलाइन्सको इम्ब्रेयर १९० मोडेलको हो । उक्त विमान आकस्मिक अवतरणका क्रममा दुर्घटनाग्रस्त भई आक्टाउ सहरबाट लगभग तीन किलोमिटर टाढा खसेको बताइएको छ ।

काजकिस्तानको स्वास्थ्य मन्त्रालयले ६२ जना यात्रु र पाँच जना चालक दलका सदस्यसहित विमानमा ६७ जना सवार रहेको पुष्टि गरेको छ । घटनामा जीवित रहेका २५ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ ।

“हालसम्म १४ घाइतेलाई क्षेत्रीय अस्पताल पुर्‍याइएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरूले जानकारी दिएका छन्,” स्वास्थ्य मन्त्रालयको क्षेत्रीय विभागले एक वक्तव्यमार्फत जनाएको छ । अन्य ११ जना सामान्य उपचारपछि खतरामुक्त रहेको बताइएको छ ।

काजकिस्तानको आपत्कालीन मन्त्रालयले घटनापश्चात् उद्धार कार्यमा जुटेका आफ्ना कर्मचारीहरूले दुर्घटना स्थलमा लागेको आगो नियन्त्रणमा लिन सफल भएको जनाएको छ । मन्त्रालयका अनुसार उद्धार टोलीले आगलागी रोक्नका लागि तुरुन्तै प्रभावकारी कदम चालेका थिए ।

विमानले किन आकस्मिक अवतरण गर्नुपर्ने अवस्था आयो भन्नेबारे अहिलेसम्म स्पष्ट विवरण आएको छैन । दुर्घटनाको कारण पत्ता लगाउन काजकिस्तान र अजरबैजान दुवै देशका अधिकारीहरूले संयुक्त रूपमा अनुसन्धान गर्ने तयारी गरेको बताएका छन् ।

अजरबैजान एयरलाइन्सले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विमानमा रहेका सबै व्यक्तिको सुरक्षालाई प्राथमिकता दिइएको उल्लेख गरेको छ । एयरलाइन्सले भनेको छ, “विमानलाई आकस्मिक अवतरण गर्नुपरेको कारण प्राविधिक अध्ययन भइरहेको छ । घाइतेहरूको उपचारका लागि हर सम्भव सहयोग गरिनेछ ।”

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित