राष्ट्रिय दैनिक / नवलपरासी ,१२ कार्तिक
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पतालका लागि बजेट सुनिश्चित भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सरावल गाउँपालिका वडा नं. ५ मा १५ शैयाको आधारभूत अस्पतालको लागि बजेट सुनिश्चित भएको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो ।

कुल १८ करोड रुपैया बजेट सुनिश्चित भएको मन्त्रालयका तथ्याङ्क अधिकृत सूर्यबहादुर खड्काले जानकारी दिनु भयो ।
सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी निर्वाचित भई आएसँगै सरावल गाउँपालिका वडा नं. ५, धनगढवामा १५ शैयाको आधारभूत अस्पतालको लागि जग्गा र बजेटको पहल भएको थियो ।
१५ शैयाको आधारभूत अस्पतालका लागि साबिक बडहा दुबाैलिया गाबिस हाल सरावल गाउँपालिका वडा नं. ५ को कित्ता नं. २७४ को करिब ११ कट्ठा जग्गामा अस्पताल निर्माण हुने पालिका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
नेपाल सरकार, मन्त्री परिषदको २०८१ साउन १० गतेको निर्णयानुसार आधारभूत अस्पताल भवन निर्माणका लागि २ विगाहा ६ कठ्ठा ४ धुर मध्ये करिब ११ कट्ठा जग्गा प्रयोग गर्न पाउने गरी जग्गाको प्राप्त भएको छ ।
भूमि सुधार तथा मालपोत कार्यालय नवलपरासीले गत भदौ २५ गते गाउँपालिकालाई जग्गा उपयोगको प्रमाण पत्र प्रदान गरेको छ ।
गाउँपालिकाले जग्गा र आधारभूत अस्पताल निर्माणका लागि बजेट सुनिश्चित भएसँगै अस्पताल भवन निर्माणकालागि ठेक्का प्रकृया अगाडि वढाएको गाउँपालिकाका अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।
सरकारले देशभर ३९६ वटा ५ देखि १५ शैयाको अस्पताल निर्माणकालागि कुल ५१ अर्व ८४ करोड ५५ लाख ८९ हजार बजेट श्रोत सुनिश्चित भएको जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

