Rashtriya Dainik

विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो

काठमाडौं । २३ आश्विन

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइएको भन्दै प्राप्त नभए मन्त्रालयलाई खबर गर्न आग्रह गरेका छन् ।

विपद् प्रभावित क्षेत्रका नागरिकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पानीको शुद्धिकरण, व्यक्तिगत सफाइ तथा स्वास्थ्य उपचारका लागि आवयश्यक सामग्री मन्त्रालयले पठाएको उल्लेख गरे ।

‘अहिले विपद्पछि पानीका श्रोतमा हुने प्रदुषण र फोहोरका कारण झाडापखाला, हैजा वा लामखुट्टेको टोकाइबाट डेंगु र जापानिज इन्सेफलाइटिस्जस्ता संक्रमणको सिकार तपाईं हुन नपरोस् भनेर हामीले सचेतना र आवश्यक शुद्धिकरण तथा सरसफाइका सामग्री विपद्प्रभावित तपाईंको क्षेत्रलाई प्राथमिकता दिएर पठाएका छौं,’ मन्त्री पौडेलले भिडियो सम्बोधनमा भनेका छन्, ‘तपाईंको ठाउँमा ती सामग्री पुगेको छैन वा तपाईंलाई कुनै आपतकालीन सहायता आवश्यक छ भने स्थानीय स्वास्थ्य संस्था वा मन्त्रालयको आपतकालीन सहायता नम्बर १११५ मा सम्पर्क गरिदिनुहुन म विनम्र अनुरोध गर्दछु । हामी तपाईंलाई यथासम्भव सघाउन तत्पर छौं ।’

देश प्राकृतिक विपद्को चपेटामा परेका कारण नागरिकले अझै पनि कस्ट भोगिरहनुपरेको भन्दै मन्त्री पौडेलले एउटा संकटबाट पार पाए पनि हामीले बाढी पहिरोका कारण सिर्जित संकटको चुनौतीबाट पार पाइ नसकेको उल्लेख गरे ।

‘हामीले विपद्का समयमा घाइतेहरुको निःशुल्क उपचारको प्रयत्न गर्यौं । तर, अब हामीले यत्तिकैमा सन्तोष मानेका छैनौं । नागरिकको स्वास्थ्य रक्षाका लागि आवश्यक हरेक प्रयत्नहरुमा हामी तपाईंको साथमा छौं ।’

तीनै तहका सरकारको सहकार्यमा हामीले तपाईंलाई सकेसम्म स्वस्थ पिउने पानी उपलब्ध गराउने प्रयत्न संघ सरकारले गरिरहेको भन्दै उनले कतिपय स्थानमा तत्काल विकल्प प्राप्त नहुँदासम्म र संक्रामक रोगबाट जोगिन पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन अनुरोध गरेका छन् ।

‘यसले अर्को ठूलो विपत्तिबाट तपाईं र देशलाई जोगाउने हाम्रो विश्वास र आशा छ,’ मन्त्री पौडेलले भने । मन्त्री पौडेलले विपद्को घडीमा तमाम कठिनाइकाबीच आम नागरिकको सेवामा तल्लिन भएको भन्दै स्वास्थ्यकर्मी र स्वयंसेवीहरुमा हृदयदेखि नै आभार प्रकट गरेको उल्लेख गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित