काठमाडौं,१८ असोज
पश्चिम नवलपरासीको मुख्य समस्या डुबान र सिँचाइ समस्या समाधान गर्न प्रतिनिधिसभा सदस्य विनोद चौधरी र प्रदेशसदस्य देवकरण कलवार (सन्तु)ले समस्या समाधान गर्न सरकारको ध्यानााकर्षण गराएका छन्।
ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री दीपक खड्कालाई शुक्रबार मन्त्रालयमा भेटेर चौधरी र कलवारले पश्चिम नवलपरासीमा वर्षेनी बाढीको समस्या रहेको बताएका हुन्।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका चौधरीले डुबान र सिँचाइ समस्या रहेकोले समाधानका लागि आग्रह गर्दै ज्ञापन पत्रसमेत बुझाएका छन्।
गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयले तयार गरेका दुई वटा डिपीआर कार्यान्वयन गर्न सके स्थायी समाधान हुने सांसद चौधरीको भनाइ छ।
‘दुवै डिपिआर निकै समय र साधान लगाएर तयार तयार पारिएको हुनाले त्यस क्षेत्रमा यी आयोजनाहरूको निकै महत्व छ। सम्बन्धित मन्त्रालय, विभाग, कार्यालय र आयोजनाका प्रतिनिधिको बैठक गरी यी आयोजनालाई प्राथमिकताका क्रममा कार्यान्वयन गर्ने विधि र चरण पहिल्याउने, सोही अनुसारको प्राथमिकता र विधि अपनाएर चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्ने, त्यसका लागि छुट्टै शीर्षक कायम गरी चालु आर्थिक वर्षभित्रै कार्यान्वयन प्रारम्भ गर्ने व्यवस्था गर्ने र यस क्रममा स्थानीय जनता तथा जनप्रतिनिधिको सहभागिता सुनिश्चित गर्नुपर्छ,’ चौधरीले मन्त्री खड्कासँग भने।
नेपाल गण्डक पश्चिम नहर सिँचाइ प्रणालीलाई किसानको पहुँच वृद्धि गर्न पर्याप्त रकम विनियोजन गरी किसानको खेतसम्म सिँचाइ पुर्याउन पनि उनको माग छ।
गण्डक नहरको विभिन्न स्थानको सरसफाइको व्यवस्था हुनुपर्ने, सुरजपुरा पावर हाउस पूर्ण क्षमतामा संचालन हुने गरी मर्मत हुनुपर्ने, ग्रामीण विद्युतीकरणका पहुँच नपुगेका स्थानहरूको लागि बजेट विनियोजन गरी नियमित मर्मत गरी नियमित सेवा प्रदान गर्ने व्यवस्था हुनुपर्ने चौधरीले बताएका छन्।
बाढीले नारायणी नदीमा रहेको करिब दुई सय मिटर तटबन्धन बगाई सुस्ता गाउँपालिका वडा नम्बर ५ मा २०० घर डुबान भएको उनको भनाइ छ। उक्त तटबन्ध तत्काल निर्माण गर्न पनि उनले माग गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

