विनोद मण्डल /सिराहा,१७ असोज
सिराहा जिल्लाको धनगढीमाई नगरपालिकामा रहेका विभिन्न शक्ति पीठहरुमा कलस यात्रा गरी घटस्थापना गरिएको छ । स्थानीय बासिन्दा तथा श्रद्धालुहरूले धार्मिक र सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै यस बर्ष पनि बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा जमरा राख्ने विधि पूरा गरेका छन् ।
धनगढीमाईको पूर्व-पश्चिम राजमार्ग स्थित सरस्वती नदी र अन्य स्थानिय तलाउ तथा सरोवरहरूमा विशेष जल भर्ने कार्यक्रम सम्पन्न भएको छ । विशेष रूपमा कलस यात्रा सुरु भई, विभिन्न धार्मिक समूहहरू, युवा क्लब, महिला समूह, र अन्य स्थानीय संघ संस्थाहरूको सक्रिय सहभागीता रहेको थियो । जल भर्नु तथा कलस स्थापना गर्नु शक्ति र समृद्धिको प्रतीक मानिन्छ, जसका कारण सर्वसाधारणले ठूलो उत्साहका साथ सहभागीता जनाएका छन् ।

कलस यात्रामा स्थानीय बासिन्दाहरूले परम्परागत वस्त्र, ध्वजा, तथा बाजागाजा सहित सहभागिता जनाएका थिए । सो क्रममा धार्मिक भजन कीर्तन तथा दुर्गा स्तुति गरिँदै, शक्तिपीठसम्म यात्रा गरियो । विशेष विधिअनुसार जल भरिएको कलसलाई शक्ति पीठमा स्थापित गरी त्यहाँ घटस्थापना गरिएको छ, जसले दसैंको धार्मिक र सांस्कृतिक महत्वलाई स्थापित गरेको छ ।
धनगढीमाईको शक्ति पीठहरूमा घटस्थापना पछि जमरा राख्ने परम्परा रहिआएको छ । यसरी राखिएको जमरालाई दुर्गा पूजा अवधिभर जल चढाइ सिंचित गरिन्छ र बडादशैंको नवमीका दिन विशेष पूजाआजा गरी मुख्य देवी दुर्गाको चरणमा अर्पण गरिन्छ । यो परम्परा धार्मिक विश्वास र सांस्कृतिक सम्पदाको रूपमा रहिआएको छ र यसले समुदायमा सद्भाव, एकता र भक्ति भावना बढाउने काम गर्दछ ।
श्रद्धालुहरूका अनुसार, शक्ति पीठहरूमा घटस्थापना र जमरा राख्ने विधिले आफू र परिवारको कल्याण तथा समृद्धिको कामना गर्ने धार्मिक मान्यता रहेको छ । स्थानीय पण्डितहरू र ज्योतिषीहरूले सम्पूर्ण प्रक्रिया वैदिक विधिअनुसार सम्पन्न गराएका थिए ।

यो वर्ष पनि सिराहाका विभिन्न शक्ति पीठहरूमा घटस्थापनाको रौनक उच्च रहेको थियो । भक्तजनहरू बिहानैदेखि शक्तिपीठहरूमा भेला भएका थिए र पूजाआजा गर्दै देवी दुर्गाको आर्शिवाद ग्रहण गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

