Rashtriya Dainik

बर्दघाट ट्रमा सेन्टर राष्ट्रिय ट्रमा सेन्टरको रुपमा अघि बढ्नेछ : स्वास्थ्यमन्त्री पौडेल

उमेश बि.क / नवलपरासी ,१३ असाेज

सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले राजमार्गमा हुने दुर्घटनाका घाइतेहरूलाई सहज उपचारका लागि बर्दघाट ट्रमा सेन्टरलाई राष्ट्रिय ट्रमा सेन्टरको रुपमा अघि बढाउन पहल गर्ने बताउनुभयो ।

बर्दघाट ट्रमा सेन्टरको शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले सहित स्मृति सामुदायिक अस्पतालमा डायलासिस सेन्टर निर्माण गरिने बताउनुभयो । निर्माण कम्पनीलाई समयमै अगावै निर्माण सम्पन्न गर्न आग्रह गर्दै मन्त्री पौडेलले भुक्तानीका लागि कुनै समस्या हुन नदिने बताउनुभयो । बिमाको रकमलाई वृद्धि गरी थप प्रभावकारी बनाउदै लगिने पौडेलले बताउनुभयो । विशिष्टीकृत सेवाहरू विस्तार गर्ने सोच आफूहरूको रहेको भन्दै प्रदेशस्तरमा रहेका प्रादेशिक अस्पतालहरूबाट संघीय राजधानीमा उपलब्ध सेवाहरू विस्तार गर्ने प्रयास थालिएको बताउनुभयो ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले निकै लामो र अथक प्रयासपछि ट्रमा सेन्टर शिलान्यास गर्न सफल भएको उल्लेख गर्दै ट्रमा सेन्टरले जग्गाको संरक्षणमा समेत टेवा पुगेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित भएसँगै सेन्टर खोल्ने चाहना राखेकामा अघि बढ्न सफल भएको भन्दै सघाउने संघीय सरकार लगायत सबैप्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा सांसद सरिता भुसाल,लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खेम सारु मगर, पूर्व मन्त्री हृदयेश त्रिपाठी,पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल , प्रदेशसभा सदस्य बिश्वप्रेम पाठक लगायतले बोल्दै आम नागरिकको स्वास्थ्यसँग जोडिएको ट्रमा सेन्टरको निर्माणले आम नागरिकलाई निकै ठूलो टेवा पुग्ने बताउनुभयो ।

९ करोड बढीको लागतमा बन्ने ट्रमा सेन्टर निर्माणको जिम्मा एक्सिस एसियन कन्स्ट्रक्सन कम्पनीले पाएको छ । निर्माणको समय अवधि १८ महिना रहेको बताइएको छ ।

बर्दघाट नगरपालिकाको आयोजनामा आज एक विशेष कार्यक्रमका बिच नगरप्रमुख शम्भुलाल श्रेष्ठकाे अध्यक्षता तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले ट्रमा सेन्टरको शिलान्यास गर्नुभएको हो ।

ट्रमा अस्पताल सञ्चालनपश्चात् पूर्वपश्चिम राजमार्गमा हुने सवारी दुर्घटना तथा स्थानीय तहमा हुने दुर्घटना लगायत सबै प्रकारका विरामीहरुले सहज उपचार पाउने छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित