राष्ट्रिय दैनिक / नवलपरासी ,१० असाेज
मधेशका अधिकांश क्षेत्रमा मनाइने जितिया पर्व आज ३६ घण्टा लामो निर्जल र निराहारपछि सम्पन्न भएको छ।
सन्तानको दीर्घजीवन तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व यहाँ सोमबारदेखि नै धार्मिक विधिअनुसार सुरु भएको थियो। मंगलबार बिहान ४ बजेदेखि आज साँझ सवा ५ बजेसम्म व्रतालु महिलाहरू उपवास बसेका थिए।
यसरी उपवास बसेका महिलाहरूले बुधबार साँझ सवा ५ बजे पवित्र नदी, पोखरी र तलाउ तथा जलाशयमा नुहाएर अन्तिम पूजा गरी दही, चिउरा, अमोट, सख्खर र काँक्रोको प्रसाद चढाएर व्रत सम्पन्न गरेका छन्। यसरी व्रत समापन गर्ने विधिलाई पारण भनिन्छ भने पारण गरेर व्रतालु महिलाहरूले आआफ्ना घरमा देवतालाई चढाएका प्रसाद ग्रहण गर्नुका साथै विभिन्न खानेकुरा खाने चलन रहेको छ।
श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरि असोज ७ गते सोमबार ओंगठन, असोज ८ गते व्रत र असोज ९ गते आज जितिया व्रत पारण गर्ने उल्लेख छ। तिथिको हेरफेरअनुसार यसवर्ष मिथिलाञ्चलमा सोमबार नहा खा (नुहाएर खाने) विधिबाट सुरु भएको पर्वमा व्रतालु महिलाहरू मंगलबार बिहान ४ बजेदेखि बुधबार दिनभरि उपबास बस्ने प्रचलन रहेको जलेश्वरनाथ महादेव मन्दिरका पूजारी पण्डित उपेन्द्र पाठकले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

