आरपि उपाध्याय / नवलपरासी ,२८ भदौ
पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाले पालिका अन्तर्गत हुलाकी सडक निर्माण कार्यमा भएको ढिलाइ विरुद्ध गरिएको आन्दोलन रिले अनसन समाप्त भइ शुक्रबारदेखी आमरण अनसन सुरु भएको छ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले एक कार्यक्रमका बिच ईलाका प्रशासन कार्यालय परिसरमै आमरण अनसन सुरु गर्नुभएको हो।

भाद्र २५ गतेदेखि २७ गतेसम्म ३ दिन गरिएको रिले अनसनबाट केहि परिणाम आउन नसकेपछि सडक निर्माण कार्य सम्पन्न नहुदा सम्म घोषणा गरिएका चरणबद्ध आन्दोलन अन्तर्गत आजै देखि आमरण अनसन गरिएको पनि प्रतापपुर गाउँपालिकाद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

जारी बिज्ञप्तिमा ६ वर्षभन्दा पनि लामो समय अवधिमा प्रदेश र संघ सरकारद्वारा निर्माण गर्ने भनिएको हुलाकी र भित्री सडकको दुर्दशा चिन्ताजनक भएकोले सडक तत्काल निर्माण गर्न दबाब दिन आन्दोलन गरिएको पनि बिज्ञप्तिमा जनाइएको छ।
प्रतापपुर गाउँपालिकाले चरणबद्ध रुपमा गरेको सत्याग्रह सहितको आन्दोलन प्रती ध्यानाकर्षण भइ नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापा आन्दोलन स्थल पुगि ऐक्यवद्धता जारी गर्दै उहाँले केन्द्रमा नेपाली काङ्ग्रेस सरकारमा छ,प्रतापपुर गाउँपालिकाको स्थानीय सरकार सडकमा हुनु चिन्ताको विषय रहेको बताउनु भयो।

महामन्त्री थापाले पुर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट खण्ड कहालीलाग्दो अवस्थामा रहेको बताउदै नागरिकको सास्ती अन्त्य गर्न आफुले पहल गर्ने धारणा राख्नुभयो।
पुर्व मन्त्री समेत रहनुभएका महामन्त्री थापाले आफू काठमाडौं पुग्नासाथ प्रधानमन्त्रीलाई लुम्बिनी प्रदेशको बुटवलमा मन्त्री परिषदको बैठक बोलाउन आग्रह गर्ने र उक्त बैठकमा आउने प्रधानमन्त्री र मन्त्री परिषदका सदस्यहरु पनि सडक मार्ग हुँदै बुटवल जादा सडकको अवस्था बुझ्न सहज हुने बताउनु भयो।
अहिले नेपाली जनताले सरकार परिवर्तनको महसुस गर्न चाहेको बताउदै थापाले बुटवल नरायणघाट सडक र परासी नारायणचोक, बेलाटारी सडक तत्काल निर्माण गर्न आफुले पार्टीगत रुपमा परिणाम आउने किसिमबाट पहल गर्ने धारणा पनि राख्नुभयो।

आमरण अनसन स्थलमा संविधान सभा सदस्य एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल, प्रदेश सभा सदस्य विश्वप्रेम पाठक, रामग्राम नगरपालिका प्रमुख धनपत यादव, बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठ,नेपाली काङ्ग्रेस, रा.प्र.पा. लगायतका नेता, कार्यकर्ता र ठूलो सङ्ख्यामा स्थानीय सर्वसाधारणहरुको पनि उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

