Rashtriya Dainik

सडक निर्माणमा ढिलाइ भएको भन्दै जनप्रतिनिधि तथा राजनीतिक दल धर्नामा

आरपि उपाध्याय / नवलपरासी ,२३ भदौ

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाले पालिका अन्तर्गतका सडक निर्माणमा ढिलाइ भएको भन्दै धर्ना तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न गरेको छ।

पालिकाको भुगोलभित्र पर्ने हुलाकी राजमार्गको नारायण चोकदेखी बेलाटारी सम्म,कठहवादेखी बेलाटारीसम्म प्रदेश सरकार तथा महेशपुर त्रिवेणीको बर्दघाटे सुर्यपुरा,भुजहवा,सेमरी लगायत सडक खण्डको निर्माण कार्यमा भइरहेको ढिला सुस्तीमा मातहतका निकायको गैरजिम्मेवारी कार्यका विरुद्ध चरणबद्ध आन्दोलनको तयारी गरेको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनुभयो।


प्रतापपुर गाउँपालिका का जनप्रतिनिधि सहित ५ सयको सङ्ख्यामा जिल्ला प्रशासन कार्यालय परासी पुगेका नागरिकहरूले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई धर्ना स्थलमा बोलाइ प्रधानमन्त्रीलाई तीन बुदे ज्ञापन पत्र बुझाएका हुन।


प्रधानमन्त्री समक्ष बुझाइएको ज्ञापन पत्रमा सडक निर्माणमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायी तथा कम्पनीलाई कारवाही गर्ने, जिर्ण रहेको हुलाकी राजमार्गलाई चार महिनाभित्र सम्पन्न गर्नुपर्ने र प्रतापपुर गाउँपालिका भित्र रहेका संघीय सरकार,मातहतका सडकहरु र प्रदेश सरकार अन्तर्गतको सबै सडक तत्काल निर्माण गरि सम्पन्न गर्नुपर्ने रहेको छ।
ज्ञापन पत्रमा आउदो भाद्र २५ गतेदेखि २७ गतेसम्म प्रतापपुर गाउँपालिका का पदाधिकारीहरुले ईलाका प्रशासन कार्यालय सेमरी परिसरमा रिले अनसन गर्ने तथा भाद्र २८ गते पालिका अध्यक्ष यादवले माग पूरा नहुदासम्म आमरण अनसन गरिने पनि परासीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।


आइतबार दिउँसो १२ बजेदेखि जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका पालिका पदाधिकारी समेत सर्वसाधारणहरुले माग पूरा नभएसम्म आन्दोलन जारी गर्ने उद्घोष गरेका थिए।
सोहि भेलाले कोण सभाको आयोजना गरि सामुहिक ऐक्यवद्धता जारी पनि गरेको बताइएको छ।
सो अवसरमा संविधान सभा सदस्य एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल,माओवादी केन्द्रका जिल्ला इन्चार्ज भबिसर तिवारी, आजार नेपाली काङ्ग्रेसका कार्यवाहक जिल्ला सभापति बिक्रम यादव,रा.प्र.पा. अध्यक्ष रामभवन यादव,लुम्बिनी प्रदेश सभा सदस्य बैधनाथ जैसवाल,ज.स.पा. नेता धरेन्द्र यादव,लो.स.पा.का. मुकुरजी गिरी,राष्ट्रिय स्वतन्त्र पार्टीका रबि पाण्डे लगायतले प्रतापपुर गाउँपालिकाद्वारा प्रस्तुत माग र आन्दोलन प्रती पुर्ण ऐक्यवद्धता जनाएका थिए।


स्मरणीय छ २०८१ भाद्र २० गते प्रतापपुर गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा जिल्ला समन्वय समितिका अध्यक्ष भगौती यादव समेत जिल्ला अन्तर्गतका सात ओटै पालिका प्रमुखहरुले प्रतापपुर गाउँपालिकाद्वारा गरिएका आन्दोलन प्रती पुर्ण समर्थन रहेको जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ।
प्रतापपुर गाउँपालिकाद्वारा गरिने दुई दिने रिले अनसनमा अनसन स्थलबाटै सेवाग्राहीहरुलाई सेवा प्रदान गरिने पनि उपाध्यक्ष मान कुमारी चौधरीले जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित