काठमाडाैं | साउन ६,
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुईतिहाइ मत प्राप्त गरेका छन् ।
आइतबार प्रतिनिधिसभामा ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा दुईतिहाइ मत प्राप्त भएको हो ।
ओलीलाई सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल एमालेसहितका १८८ सांसदले मत दिए । विपक्षमा ७४ मत खस्यो ।
नेमकिपाका सांसद प्रेम सुवाल भने तटस्थ बसे ।
सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ हुन १८४ मत आवश्यक पर्छ । ओलीले त्यसभन्दा ४ मत बढी पाएका छन् ।
२०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष ओलीले भोलिपल्टै पद तथा गोपनीयताका शपथग्रहण गरेका थिए ।
एक साता नबित्दै ओलीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका हुन् ।
ओलीलाई कांग्रेस-एमालेका अलावा जसपा, जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति र २ स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् ।
ओलीको विपक्षमा माओवादी, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादीसहितले मतदान गरेका छन् ।
२०७९ पुस २६ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २७० सदस्य उपस्थित हुँदा २६८ जनाको समर्थन पाएका थिए । जुन ९९ प्रतिशतभन्दा बढी थियो । तर, पाँचौंपटक विश्वासको मत लिने क्रममा प्रचण्डले गत असार २८ गते ६३ जनाको मात्रै मत पाए ।
प्रचण्ड पदमुक्त भएपछि ओली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।
यी दुई दलबीच २०८३ असारसम्म ओली र त्यसपछि २०८४ मंसिरमा निर्वाचन नगर्दासम्म कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

