आरपि उपाध्याय / त्रिवेणी ,२९ असार
पुर्वी नवलपरासीको त्रिवेणीमा आयोजित एक कार्यक्रममा आफ्नो भनाइ राख्ने व्यक्तिहरुले नेपाल प्रवेश गर्ने भारतीय पर्यटकहरु संग व्यक्तिगत विवरण सहित नाम,थर,वतन टिपोट गरी नेपाल प्रवेश गर्न दिनुपर्ने सुझाव दिए।
उनीहरूले गण्डकी प्रदेशको भारत संग जोडिएको एक मात्र त्रिवेणी भन्सारले मालसामान लिलामी गर्दा सबैले जानकारी पाउने गरी मालसामान लिलामी गर्न पाउने व्यवस्था र त्रिवेणी आसपासका क्षेत्रमा हुने गरेको लुटपाट, चोरी नियन्त्रण गर्न प्रहरीको सक्रियता अझै बढाउनु पर्ने सुझाव दिएका थिए।
सो अवसरमा त्रिवेणी क्षेत्रमा लागू औषध ओसारपसार र सेवनकर्ताको सङ्ख्या बढ्न थालेकोमा सोको नियन्त्रणको लागि विद्यालय र समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रम गर्नुपर्ने नागरिकहरुले बताएका छन।

ईलाका प्रहरी कार्यालय दुम्किबासको आयोजना तथा विनयी त्रिवेणी गाउँपालिका वडा न.६ र ७ को समन्वयमा आयोजित एक दिने नागरिक सुनुवाइ कार्यक्रममा सुझाव दिने वक्ताहरूले उक्त धारणा राखेका थिए।
कार्यक्रममा ट्राफिक चेकजाँच कार्यलाई तीव्रता दिनुपर्ने र त्रिवेणी स्थित गण्डक ब्यारेज नाका र आसपासका क्षेत्रमा शान्ति,सुरक्षा अझ बढी चुस्तदुरुस्त पार्न ई.प्र.का. त्रिवेणीमा प्रहरी जनशक्ति बढाउनुपर्ने माग पनि गरिएको थियो भने घरेलु हिंसा,झैझगडा हुँदा प्रहरी जनशक्ति कत्ति पनि ढिलो नगरी घटना स्थलमा आइपुग्नुपर्ने सुझाव दिए।
गण्डक ब्यारेज नाकामा सुरक्षा चेकजाँच गर्दा फितलो र झारो टार्ने काम गरिएको गुनासो आएकोमा यसतर्फ कडाइ गर्नुपर्ने तथा सिमा क्षेत्रमा अवैध रुपमा बसोबास गर्दै आएका भारतीयहरुको अभिलेखिकरण गर्नुपर्ने मुद्दा पनि कार्यक्रममा उठाइएको थियो।
छाडा चौपाया छोड्ने जस्ता कार्य रोक्नुपर्ने र “प्रहरी मेरो साथी,मुस्कान सहितको प्रहरी सेवा” लाई वर्तमान समयमा पनि निरन्तरता दिनुपर्ने आवाज नागरिकहरुले उठाएका थिए।
सिमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बिच समन्वय हुनुपर्ने तथा प्रहरी सेवालाई अझ बढी भरपर्दो र विश्वासनिय रुपमा सञ्चालन गर्नुपर्ने माग पनि नागरिकहरुको थियो।
ईलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक थमन सिंह रानाको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि विनयी त्रिवेणी ६ को वडा अध्यक्ष नुरेन्द्र शाह रहनु भएको थियो।
सो अवसरमा वडा अध्यक्ष शाहले प्रहरी र स्थानीय निकायसँगको समन्वयमा नागरिकले उठान गरेको सुझावलाई लागू गर्न सकिने विचार व्यक्त गर्नुभयो।
नागरिक सुनुवाइ कार्यक्रममा वडा न.७ का वडा अध्यक्ष उमेश कार्की,होटल व्यवसायी संघ नवलपुरका उपाध्यक्ष प्रकाश कुवर,वडा न.७ की महिला सदस्य शोभा क्षेत्री,लक्ष्मण प्रसाद गौतम,निरन्जन थापा,अच्युतमान श्रेष्ठ,अमित थापा,मनी कुमार श्रेष्ठ, नवराज कल्ली मगर,रुपा थापा,तारा बहादुर थापा,नेहा खडका,खेमराज न्यौपाने लगायत दुई दर्जन नागरिकहरुले सम्बन्धित सरोकारवाला निकायको ध्यान जानुपर्ने कुरा राख्दै आफ्नो विचार सहित सुझाव प्रस्तुत गरेका थिए।

विनयी त्रिवेणी वडा न.६ र ७ मा ई.प्र.का. दुम्किबासले समय सान्दर्भिक नागरिक सुनुवाइ गरेपछि नागरिकबाट आएका सल्लाह,सुझावलाई कार्यान्वयन गर्न प्रहरीले गण्डक ब्यारेज पुल, रानीनगर बजार र विनयी त्रिवेणी तथा सुस्ता गाउँपालिकाको सिमानाको इलाकामा पनि गस्ती र चेकजाँच कार्यलाई बढाएको ई.प्र.का. त्रिवेणीले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

