ओम प्रकाश यादव / राैतहट ,२२ जेष्ठ
रौतहटको गढिमाइ नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया÷गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको आयोजना तथा गढिमाइ नगरपालिका कार्यालयको सहकार्यमा नगरपालिका कार्यालयको सभाकक्षमा मंगलवार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
पछिल्लो समय स्थानीय तहहरुमा मौलाएको भ्रष्टाचार नियन्त्रण तथा पारदर्शीता एवं सुशासन कायम गराउने उद्देश्यले पालिकास्तरीय उक्त कार्यक्रमको आयोजना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गढिमाइ नगरपालिकाका मेयर श्याम प्रसाद यादवले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गराउने प्रमुख दायीत्व कर्मचारी र जनप्रतिनिधिहरुको रहेकोले सबै कर्मचारी तथा जनप्रतिनिधिले सुशासन कायम गर्ने, गराउने तर्फ लाग्नुपर्ने बताएका छन् ।
स्थानीय सरकारको सुशासन प्रवद्र्धन गर्न यस प्रकारको अन्तरक्रिया कार्यक्रमले विशेष सहयोग पुग्ने बताउदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरु राष्ट्रप्रति जिम्मेवार भई नैतिक दायित्व बहन गर्दै सदैव सुशासन, पारदर्शीका साथै नियमको परिधिमा रही काम गर्नुपर्ने मेयर यादवले बताए ।
भ्रष्टाचारले मानिसको इज्जत, मान, प्रतिष्ठा गुम्नुको साथै राष्ट्रको लगानी दुरुपयोग हुने भएकोले यसमा सबैले सजग र सतर्क हुनुपर्ने उनले बताए । भ्रष्टाचार रोक्न सम्पूर्ण नागरिकहरु जिम्मेवार भएर आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने समेत उनले बताए ।
कार्यक्रममा सहभागिताहरूले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुझाव समेत दिएका थिए ।
कार्यक्रममा सहभागीहरुबाट उठेका विभिन्न प्रश्नहरुको जवाफ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका सिनियर डिभिजनल ईन्जीनीयर सुरेन्द्र घिमिरेले दिएका थिए ।
त्यस्तै आयोगका प्रहरी नायव उपरीक्षक (डिएसपी) होम बहादुर पराजुली, प्रहरी निरीक्षक (इन्स्पेक्टर) भुवनबाबु खड्का र ईन्जीनीयर रोशन बुढाथोकीले पालैपालो विषयवस्तु उपर प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीले भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शीता कसरी कायम गर्ने भन्ने विषयमा प्रकाश पारेका थिए । भ्रष्टाचार हुन नदिन के के कुरामा ध्यान दिनुपर्ने, सुशासन कसरी कायम गराउने लगाएत विषयमा डिएसपी पराजुलीले सहभागीहरुलाइ जानकारी गराएका थिए ।

कार्यक्रममा भ्रष्टाचारकाको अवधारणा, भ्रष्टाचारको कारण, भ्रष्टाचारमा दोषी ठहरिदा हुने सजाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कार्यवाही, भ्रष्टाचार सम्बन्धी विश्व र नेपालको अवस्था, भ्रष्टाचारको प्रवृत्ति, भ्रष्टाचार सम्बन्धी भ्रम र वास्तविकता लगायतका विषयमा छलफल गरिएको थियो ।
एक दिवसीय आयोजित अन्तरक्रिया कार्यक्रममा गढिमाइ नगरपालिकाका जनप्रतिनिधीहरु, पालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव, प्रशासन शाखा प्रमुख नागेन्द्र यादव सहित सम्पूर्ण कर्मचारी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवाहरु, विद्यालयका प्रधानाध्यापक, विभिन्न संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकारहरु लगायत अन्य व्यक्तिहरुको सहभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

