Rashtriya Dainik

संरक्षणको प्रखाईमा बाल्मिकी आश्रम, बाटो नहुँदा भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

विनोद निगम / नवलपरासी ,८ जेठ

आफ्नै देशको धार्मिकस्थल बाल्मीकि आश्रम पुग्न सडक सञ्जालको पहुँच नहुँदा वर्षौदेखि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन। चितवनको माडी नगरपालिका–१ स्थित बाल्मीकि आश्रम जान पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ त्रिवेणीबाट भारतीय बाटो भैसालौटन हुँदै जानुपर्ने बाध्यता छ ।

नेपालबाट सडक सन्जालमा जोड्न नसकेका कारण ऐतिहासिक, प्राचीन र पौराणिक सम्पदाको रुपमा रहेको यो आश्रम पुग्न नेपाली तथा नेपालको बाटो भएर आउने अन्य देशका पर्यटकहरुलाई समस्या परेको हो ।

त्यसो त वाल्मीकि आश्रम जोड्न नारायणी नदी माथि निर्माण गरिएको झोलुङ्गे पुलसमेत दुई वर्षदेखि बाटो निर्माण नहुँदा प्रयोगविहीनजस्तै बनेर बसेको छ। ऐतिहासिक,धार्मिक, पर्यटकीय स्थलको रूपमा रहेको वाल्मीकि आश्रम बाटो नभएकै कारण ओझेलमा परेको छ ।

पुल हुँदै वाल्मीकि आश्रम पुग्नका लागि चितवन राष्ट्रिय निकुञ्जको जङ्गल क्षेत्र प्रयोग गर्नु पर्दछ । बाटो बन्ने योजना अनुरूप २०७१ सालमा ६ करोड ७४ लाख बजेटमा पुल निर्माणको काम सुरु भएर २०७८ मा सम्पन्न भए पनि पुल पारि बाट बाटो बिस्तार नहुँदा त्यो पुलसमेत प्रयोग विहीन जस्तै बनेको छ ।

स्थानीयले यसका लागि सरकारले आश्रमको संरक्षण गर्दै सहज पहुँच मार्ग विस्तार गर्न, भारतसँग सहकार्य गरी रामायण सक्रिट बनाउन, आश्रमका बारेमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न आग्रह गरेका छन् ।

अहिले बाल्मीकि आश्रम जान त्रिवेणी हुँदै गण्डक ब्यारेजबाट पारीपट्टी भारतको बाटो हुँदै जानुपर्छ । नेपालमा रहेको बाल्मीकि आश्रममा पुग्नको लागि भारतमा मोटरसाइकलको २० र कारको ५० रूपया दस्तुर दिनु पर्ने वाध्यता रहेको छ । वाल्मीकि आश्रममा ठूलो संख्यामा भारतीयहरु आउँदा नेपालीहरु भने पहुँचमार्ग नभएकै कारण नगन्य रुपमा पुग्ने गरेका छन् । पुजारीका अनुसार यहाँ आउने ९९ प्रतिशत श्रद्धालु भारतीय छन् ।

आश्रमका पुजारी शेखर सुवेदीका अनुसार तत्कालीन राजा महेन्द्रले बाल्मीकि आश्रमका लागि १२ बिगाह जमिन छुट्याएका थिए । तर, हाल वन क्षेत्रमा रहेको भन्दै त्यहाँ आश्रमले कुनै पनि काम गर्न पाएको छैन। आश्रमको वरिपरी ३ वटा पुरानो घर, सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरी एउटा चौकी छ । आश्रम क्षेत्रमा २ वटा नयाँ मन्दिर बनाइएको छ भने एउटा पुरानो मन्दिर छ । त्यहाँ फूल, प्रसाद र मिठाई बेच्ने स्थानीय मात्र देखिन्छन् ।

निकुञ्जको जङ्गल हुँदै ट्र्याक बिस्तारका लागि चालू आर्थिक वर्षमा शहरी विकास मन्त्रालयबाट २० लाख रुपैयाँ विनियोजन भए पनि निकुञ्जको खातामा पैसा न आइपुगेकाले काम अघि बढ्न नसकेको बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिए ।

राष्ट्रिय निकुञ्ज भएका कारण सरकारी निकाय बीचको आपसी प्रक्रियागत र कानुनी जटिलताका कारण ट्र्याक बिस्तारमा ढिलाइ भएको हो । वाल्मीकि आश्रम चितवन जिल्लाको माडी नगरपालिका–१ को निकुञ्ज जङ्गल क्षेत्रमा रहेको छ । त्यहाँ पुग्नका लागि चितवनबाट जाने बाटो छैन ।

ट्र्याक बिस्तारका लागि निकुञ्जबाट पत्राचार भैसकेको र बजेट प्राप्त भएपछि तत्कालै गोरेटो निर्माणको काम अघि बढ्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । वाल्मीकि आश्रमकै लागि पुल बनेको हो अहिले बिनयि त्रिवेणी गाउँपालिका र माडी नगरपालिकाले पनि विशेष चासो देखाएका कारण निकुञ्जसँगको समन्वयमा काम अघि बढेको तिवारीले जनाए ।

वाल्मीकि आश्रम, ऋषि वाल्मीकिले रामायण रचना गरेको र राम–सीताका छोरा लवकुश जन्मेको स्थलका रूपमा रहेको धार्मिक ग्रन्थमा उल्लेख छ । त्रेता युगमा रामले सीतालाई त्याग गरेपछि वाल्मीकि आश्रममै जीवन बिताएको र पछि सीता पातल प्रवेश (धर्तीमूनी विलीन) गरेको स्थानका रूपमा पनि यो स्थल रहेको धार्मिक मान्यता छ। यहाँ नेपाली मात्र होइन भारतीय पर्यटकसमेत आउने गरेका छन् ।

भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यताका कारण पनि नेपालीहरू आश्रम पुग्न असहज मान्ने गरेका छन् । आश्रम पुग्न निर्माण गरिएको पुल ट्र्याक बिस्तार भएसँगै सञ्चालनमा आउने भएसँगै यस क्षेत्रको विकासले समेत गति लिने र पर्यटन प्रवर्द्धनमासमेत टेवा पुग्ने सबैको विश्वास छ ।

त्रेतायुगमा रामको अविश्वासपछि सीता दोस्रो पटक वनबास जाँदा यहाँ पुगेर लव, कुशलाई जन्म दिएको तथ्यप्रमाणबाट खुल्छ । तर, यही महर्षि वाल्मीकि, सीता र लब–कुशसँग जोडिएका धेरै प्रमाणहरु रहेको आश्रम भने सरकारी उदासिनताले ओझेलमा छ ।

केही समयअघि भारतमा तामझमसहित राम मन्दिरको प्राण प्रतिष्ठा गरेर विश्वभर रहेका हिन्दू धर्माबलम्बीको ध्यान खिच्यो तर, भगवान् रामसँग जोडिएको आश्रममा जान नेपालबाट बाटो समेत छैन । यहाँ जान झोलुंगे पुल बनेपनि प्रयोगमा आएको छैन भने यहाँ रहेका ऐतिहासिक संरचना संरक्षणमा कसैको ध्यान पुगेको छैन ।

बर्सो देखि त्यस ठाउँमा राज्यको लगानी न रहँदा त्यस ठाउँमा खानेपानी,यातायात,विद्युत,स्वास्थ्य र बस्ने बास आदि दैनिक जीवनयापन गर्न पूर्वाधारको व्यवस्थापन न हुँदा त्यस ठाउँको विकास ओझेलमा रहेको छ ।

आश्रममा दर्शन र पुजाआजा गर्न पुग्ने पर्यटक ऐतिहासिक ठाउँ ओझेलमा परेको देख्दा अमिलो मन बनाएर फर्किने गरेको आश्रमका पुजारी सुवेदीले बताउँछन् । यहाँ राम भगवानले सीता मातालाई वनबासका लागि महर्षी बाल्मीकि ऋषिको आश्रममा छाडेको, भगवान् रामका छोराहरु लव र कुशको जन्म भएको र सीता माता पातालमा भाँसिएको स्थल जीर्ण अवस्थामा छ ।

आश्रम वरपर सीता पाताल प्रवेश स्थल, अमृत कुण्ड, हवन कुण्डका अवशेषहरु छन् । लव र कुशले घोडा बाँधेको खम्बा, पाठशालाको अवशेष, विष्णु चक्र, सीताको फलफूल बगैंचा र वाल्मीकि ऋषि अन्तरध्यान भएका स्थल पनि छन् । कलात्मक ढुंगा, ढुंगाकै खम्बा, इँट्टाका टुक्रा जस्ता प्राचीन वस्तुहरु यत्रतत्र छरिएका छन्  ।

तर, कहीकतैबाट संरक्षणमा ध्यान दिइएको छैन । नेपालबाट जाने पूर्वाधार नभएकै कारण नेपाली भन्दा भारतीयहरु यहाँ बढी पुग्छन् ।

अर्थात् त्यस ठाउँको विकासका लागि चाहिने भौतिक संरचना निर्माण, झोलुंगे पुल यथासिग्र सञ्चालन गरी आउजाउमा सहज, अर्का तर्फ भारतसँग समन्वय गरी रामायण सर्किट बनाएर आश्रमलाई अयोध्या र जनकपुर सँग सम्बन्ध विस्तार गरे मात्र अयोध्या र जनकपुरमा आउने पर्यटक यस ठाउँमा आए यस ठाउँको विकास हुने देखिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित