मध्यरात थियो चारै तिर सुनसान थियो आमाको आँखाभरि पीडाको आँशु अनि ओठमा मन्द मुस्कान थियो किनकि हातमा ईश्वरको उपहार अनि परिवार भरी हर्षउल्लास थियो त्यो दिन त्यो समय मेरो जन्मदिनको थियो! आफैँमा बलवान थियो म जन्मेको त्यो दिन थियो किनकि पुरै नौं महिना पछिको घरमा त्यो खुसीको वर्षात थियो टोल छिमेकमा मेरै चर्चा परिचर्चा थियो। सबैका काखमा म अनि सबै मेरो साथ थियो किन की मेरो जन्मदिन थियो! मेरो हुर्काइलाई जीवनको प्रथम शिक्षालयको रूपमा लिँदै संसारलाई चिन्ने र बुझ्ने सकारात्मक नजर, अनि त्यो संसारमा कसैको नजरमा नबिझाउने सुयोग्य पात्रका रूपमा मलाई स्थापित गर्न मेरा आमा बुवाको हरसम्भव प्रयास रह्यो। अध्यात्म, नैतिकता र संस्कार प्रेमलाई आत्मसाथ गर्दै जीवन कलात्मक र सफल रूपले जिउने अभ्यासमा अभ्यासरत मेरो बुवाको सपनालाई साकार पार्दै मैले मानवीय संवेदनाप्रति सदैव सजग रही आदरभाव, सेवाभाव अनि परोपकारी मनमार्फत् सबैको मन जित्न सक्ने एक असल व्यक्ति बन्नु छ। केहीदिन अगाडि मात्र २ दशक पूरा गर्न १ वर्ष बाँकी राख्दै मेरो विशेष दिन मेरो जन्मदिनले यस वर्षको लागि मसँग बिदा भएर गयो। केही पोस्टभित्र ५०० भन्दा बढी कमेन्टका रूपमा आएका आशीर्वाद र शुभकामनाले भरिएको आफ्नो फेसबुकको रंगीन भित्ता, शुभकामनाका लागि आएका फोन कल र म्यासेजले मेरो दिन खास बनाउँदै थियो मनमा खुसी बढ्दै थियो। म एक वर्ष बुढो हुँदै थिएँ तर म खुसी थिएँ एकदम खुसी। खुसी यस कारण पनि थिएँ कि शुभकामना र आशीर्वाद दिनका लागि मेरा आफन्त इस्टमित्रले आफ्नो महत्वपूर्ण समयको केही मिनेटमात्र भए पनि मेरा लागि खर्च गर्दैहुनुहुन्थ्यो। यो व्यस्त हुँदै गइरहेको दैनिकीमा कसैले केही सेकेण्ड वा मिनेट मात्र पनि तपाईंको नाममा दिँदैछ भने सोच्नुस् त्यो तपाईंको कति विशेष दिन हो। त्यसैले त यो जन्मदिन हो। शुभकामना दिन ढिलाइ गर्नेहरू मध्य केहीले भन्दै हुनुहुन्थ्यो अब त के रमाइलो गर्नु केटाकेटी भए पो ल है जन्मदिन बिहान सबेरै शुभकामना दिएर दिनै शुभ बनाइदिम् भन्नु अब ढल्किँदै गएको उमेरमा के रमाइलो गर्नु त्यसमा पनि अब झन् व्यवहारले थिच्दै जान्छ। अबको केही वर्षमा त तिमीलाई पनि खासै मतलब लाग्दैन। तर म यो सबै कुराको पक्षमा भने पटक्कै छैन। मलाई त लाग्छ मेरो ६० वर्षको जन्मोत्सवमा पनि ममा उही उत्साह उही उमंग हुन्छ जुन उत्साह २० वर्षको जन्मोत्सव मनाउँदा थियो। उमेर बढ्दै जानुको मतलब इच्छा चहाना अनि खुसीलाई घटाउँदै जानु पनि त हैन होला नि! कसैले यो दिनलाई खास बनाउन केक काट्छन्, कसैले पार्टी दिन्छन् कसैले ग्रह शान्ति भन्दै पूजा गर्छन्। त कसैले विभिन्न आश्रममा गएर आफ्नो गक्ष अनुसारको दान गर्ने गर्दछन् तर यो सबैको उद्धेश्य भने एकै हो खुसी हुनु। यसको मतलब मैले खुसी हुन फजुल खर्च गर्नुपर्छ भन्न खोजेको भने हुँदै हैन। जे गर्दा मनमा शान्ति मिल्छ जे गर्दा खुसी मिल्छ त्यो भने पक्कै गर्नुपर्छ। मानिस शरीरले मात्र हरेक दिन बुढो हुने हो मनले हैन। यदि तनसँगै मन पनि बुढो हुँदै जान्थ्यो भने पक्कै पनि म मान्थें होला केटाकेटी हुँदामात्र हो जन्मदिनलाई उत्सव मनाउने। जन्मदिनलाई उत्सवको रूपमा मनाउने चलनलाई हरेक व्यक्तिले आ-आफ्नै सिद्धान्तका आधारमा विश्लेषण, आलोचना र समर्थन गर्ने गरेको पाइन्छ। ३६५ दिनमा बाँकी दिन जस्तोसुकै दु:ख, कष्ट, पीर, व्यथा भए पनि यो एक दिनमा भने सबै दिन भुलाउने एउटा विशेष दिन बनोस् चाहे त्यो बच्चाको होस् या वृद्धको। जन्मदिन त जन्मदिन हो नि! राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।