Rashtriya Dainik

विभेदकारी विज्ञापन नीति विरुद्ध पत्रकार महासंघ पश्चिम नवलपरासीको धर्ना, सरकारको निर्णय सच्याउन माग

आरपि उपाध्याय /नवलपरासी ,२७ जेठ

नेपाल पत्रकार महासंघ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) शाखाले नेपाल सरकारको विभेदकारी विज्ञापन नीति तथा प्रेस एवं अभिव्यक्ति स्वतन्त्रता विरोधी गतिविधिको विरोधमा चरणबद्ध आन्दोलन सुरु गरेको छ।

सोही कार्यक्रमअन्तर्गत महासंघमा आबद्ध पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय नवलपरासीको मूल गेट अगाडि बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा धर्ना दिएका छन्।

महासंघका कार्यवाहक सभापति विकास अधिकारीका अनुसार सरकारले खर्च कटौतीको बहाना देखाउँदै सबै तहका सरकारी सूचना तथा विज्ञापन राज्य–नियन्त्रित सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णय गरेको छ, जुन निजी तथा सामुदायिक सञ्चार माध्यमप्रति विभेदकारी रहेको भन्दै विरोध कार्यक्रम सञ्चालन गरिएको हो।

महासंघले यसअघि जेठ २५ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै उक्त निर्णयप्रति असहमति जनाएको र तत्काल निर्णय सच्याउन माग गरेको थियो।

महासंघले सरकारको पछिल्लो निर्णयले नेपाली सञ्चार क्षेत्रको ठूलो हिस्सा ओगटेका निजी, सामुदायिक तथा सामाजिक सञ्चार माध्यमलाई अन्याय गरेको, प्रेस स्वतन्त्रताको मर्ममाथि प्रहार गरेको तथा संघीयताको भावनाविपरीत रहेको निष्कर्ष निकालेको छ।
महासंघले आफ्ना माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित