Rashtriya Dainik

नवलपरासीमा ७ लाखभन्दा बढीका अवैध सामान बरामद, कुखुरादेखि इलेक्ट्रोनिक्ससम्म नियन्त्रणमा

राष्ट्रिय दैनिक / नवलपरासी, जेठ २७ —

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) तथा मातहतका प्रहरी इकाइहरूले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको चेकजाँच अभियानका क्रममा करिब ७ लाख २९ हजार २३४ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेका छन्।

प्रहरीका अनुसार भन्सार छली गरी नेपाल भित्र्याइएका टायल, बोइलर कुखुरा, साइकल, मोटरसाइकल, इलेक्ट्रोनिक सामग्री, हार्डवेयर तथा किराना सामानहरू विभिन्न मितिमा जिल्लाका सीमा क्षेत्र तथा मुख्य नाकाबाट नियन्त्रणमा लिइएको हो।

बरामद सबै सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले प्रतापपुर, पाल्हीनन्दन, सरावल, रामग्राम, सुनवल र बर्दघाट क्षेत्रबाट टायल, बोइलर कुखुरा, मोबाइलका पार्टपुर्जा, टेम्पर्ड ग्लास, चार्जिङ केबल, हार्डवेयर सामग्री, मसला, पेय पदार्थ, एसी तथा प्लास्टिकका त्रिपाललगायतका सामग्री बरामद गरेको जनाएको छ।

सबैभन्दा बढी मूल्यको सामान बर्दघाट नगरपालिका–४ स्थित टीसीएन चोकबाट यात्रुवाहक बसमा बिलबिजकबिनै ल्याइएको १ लाख ९३ हजार ५६४ रुपैयाँ बराबरको २४० थान प्लास्टिक त्रिपाल रहेको प्रहरीको भनाइ छ। त्यसैगरी सरावल गाउँपालिका–७ भन्सार टोलबाट १ लाख ३७ हजार ५० रुपैयाँ बराबरका मोबाइल तथा इलेक्ट्रोनिक सामग्री नियन्त्रणमा लिइएको छ।

यस्तै, रामग्राम र पाल्हीनन्दन क्षेत्रबाट मोटरसाइकल तथा साइकलमार्फत ओसारपसार गरिँदै गरेको बोइलर कुखुरा समेत बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन थापाले सीमा क्षेत्रबाट हुने अवैध आयात तथा राजस्व छली नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई अझ प्रभावकारी बनाइएको बताए। प्रहरीका अनुसार यस्ता अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित