काठमाडौं,२७ जेठ । कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाई ले पशुपति क्षेत्रलाई केवल व्यवस्थापकीय निकायका रूपमा नभई सनातन धर्म, वैदिक परम्परा, साधना र आध्यात्मिक अनुशासनको केन्द्रका रूपमा पुनर्संरचना गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लक्षित गर्दै उनले पशुपति क्षेत्रको मूल आत्मा धार्मिक आस्था, वैदिक विधि र परम्परागत पूजा प्रणाली भएकाले यसको सम्पूर्ण व्यवस्थापन पनि त्यही आधारमा सुदृढ हुनुपर्ने उल्लेख गरेका हुन् ।
उनका अनुसार पशुपतिनाथ सम्पूर्ण हिन्दू जगतको आस्थाको सर्वोच्च केन्द्र भएकाले यहाँको पूजा, सेवा, व्यवस्थापन र दर्शन प्रणाली पूर्ण रूपमा शास्त्रीय विधिअनुसार सञ्चालन हुनु अपरिहार्य छ । उनले पशुपति क्षेत्रलाई आध्यात्मिक साधना, यज्ञ, जप, ध्यान र प्रवचनको जीवित केन्द्रका रूपमा विकास गर्न सकिने धारणा पनि व्यक्त गरेका छन् ।
हुमागाईले भगवान् पशुपतिनाथलाई समर्पित भेटी, दान र शिवस्वलाई अत्यन्त पवित्र मान्दै यसको उपयोग केवल धर्म, गौसेवा, साधुसेवा, शिक्षा तथा सामाजिक कल्याणमा मात्र सीमित हुनुपर्ने बताएका छन् । व्यक्तिगत लाभ, भौतिक सुविधा वा प्रशासनिक दुरुपयोगबाट यसलाई पूर्ण रूपमा अलग राख्नुपर्ने उनको जोड छ ।
पूजा व्यवस्थापनतर्फ उनले नित्य, नैमित्तिक र पर्वपूजालाई वैदिक परम्पराअनुसार अझ व्यवस्थित बनाउनुपर्ने बताएका छन् । बासुकीनाथ, गुह्येश्वरी, भुवनेश्वरी, विश्वरूपा लगायत सम्पूर्ण देवस्थलहरूमा नियमित पूजा, आरती तथा अभिषेकलाई निरन्तर सञ्चालन गर्नुपर्ने उनको धारणा छ ।
त्यसैगरी बागमती नदीलाई गङ्गा स्वरूप मानी यसको शुद्धता संरक्षण गर्न विशेष ध्यान दिनुपर्ने, सुन्दरीजलबाट शुद्ध जल आपूर्ति प्रणालीलाई संस्थागत गर्नुपर्ने तथा पूजा सामग्रीको शुद्धता सुनिश्चित गर्न धार्मिक परीक्षण प्रणाली लागू गर्नुपर्ने प्रस्ताव उनले अघि सारेका छन् ।
हुमागाईले पशुपति क्षेत्रलाई साधु-सन्त, योगी, तपस्वी तथा भक्तजनहरूको साधना स्थलका रूपमा अझ सुदृढ बनाउनुपर्ने बताएका छन् । उनका अनुसार यहाँ नियमित रुद्राभिषेक, भजन, कीर्तन, यज्ञ, ध्यान तथा धार्मिक प्रवचनलाई संस्थागत रूपमा विस्तार गर्न सकिन्छ ।
भक्तजनको दर्शन व्यवस्थालाई शास्त्रीय मर्यादाअनुसार सहज, शान्त र अनुशासित बनाउनुपर्ने उनको धारणा छ । दर्शनलाई भेदभावरहित, सम्मानजनक र व्यवस्थित बनाउन आधुनिक व्यवस्थापनलाई धार्मिक अनुशासनसँग जोड्न सकिने उनले उल्लेख गरेका छन् ।
उनले पशुपति क्षेत्रलाई विश्व हिन्दू तीर्थका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय धार्मिक समुदायसँग समन्वय विस्तार गर्नुपर्ने बताएका छन् । विश्वभरका भक्तजनलाई पशुपतिनाथसँग जोड्ने धार्मिक सञ्जाल निर्माण गरी अनलाइन पूजा, आराधना तथा भेटी समर्पण प्रणालीलाई व्यवस्थित गर्न सकिने उनको भनाइ छ ।
अन्त्यमा हुमागाईले यदि सक्षम, निष्ठावान र धर्मनिष्ठ नेतृत्व उपलब्ध नभए आफूलाई सेवा गर्ने अवसर दिन आग्रह गर्दै पशुपति सेवा व्यक्तिगत आकांक्षा नभई पूर्ण रूपमा आध्यात्मिक समर्पण भएको स्पष्ट पारेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

