Rashtriya Dainik

गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा वडादशैंको अवसरमा भक्तजनको भीड

बागलुङ, ५ कार्तिक । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा वडादशैंको अवसरमा भक्तजनको भीड लागेको छ । कालिका मन्दिरमा असोजको दशैं र चैते दशैंमा बढी भीड देख्न सकिन्छ ।

घटस्थापनादेखि आजसम्म पाँच लाखभन्दा बढी भक्तजन दर्शनका लागि कालिका मन्दिरमा आएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको भनाइ छ । गत वर्षको दशैंमा चार लाख पर्यटक आएको उहाँले बताउनुभयो ।

मुस्ताङ भ्रमणका लागि हिँडेका स्वदेशी तथा विदेशी पर्यटक समेत कालिका मन्दिरमा आउन थालेपछि धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । अध्यक्ष खड्काका अनुसार विगतको तुलनामा यसपटकको दशैंमा भक्तजनको सङ्ख्या बढेको छ भने बलीको सङ्ख्या भने घटेको छ । कालिका मन्दिरमा राँगो, बोको र कुखुराको बली दिने गरिन्छ । परेवाको बली निषेध गरिएको छ ।

दशैंको फूलपातीदेखि कालिका मन्दिरको पार्किङमा सवारी नअटेपछि वैकल्पिक पार्किङको व्यवस्थापन गरिएको छ । हाल कालिका मन्दिरको पार्किङमा दुई पाङ्ग्रे सवारी र वैकल्पिक पार्किङ व्यवस्थापन गरिएको रामरेखा सामुदायिक वन कार्यालयको प्राङ्गणमा चार पाङ्ग्रे सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ ।

मन्दिरमा बागलुङसहित छिमेकी जिल्लाहरु म्याग्दी, मुस्ताङ, पर्वत, चितवन, बुटवल, काठमाडौँ, स्याङ्जा, पोखरालगायतका स्थानबाट मानिसहरु दर्शनका लागि आउने गरेको अध्यक्ष खड्काको भनाइ छ । पाँच सय वर्ष पुरानो कालिका मन्दिरमा पछिल्लो समय थपिएका पूर्वाधार, प्रचारप्रसार र चुस्त व्यवस्थापनका काराण धार्मिक पर्यटक बढेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित