Rashtriya Dainik

सुरु भयो दसैँ, आज घटस्थापना

काठमाडौं ,२८ असाेज

हिन्दूहरूको महान पर्व बडादसैँ आजदेखि सुरु भएको छ । १५ दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

आजैदेखि दसैँघरमा शक्तिकी अधिष्ठातृ देवी दुर्गाको आह्वान गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आरम्भ हुन्छ । नौ दिनसम्म देवी दुर्गाको नौ स्वरूपको शोडष उपचार विधिबाट पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा पुज्ने परम्परा छ ।

घटस्थापनाको दिन बिहानै नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा शुभसाइत विधिपूर्वक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ । यसैलाई जमरा राख्ने भनिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले पहिलो दिन रोपेर दशमीको दिन पूजा विसर्जनपछि पूर्ण कलशको जलले अभिषेक गरी जमरालाई प्रसादका रूपमा परिवारका ज्येष्ठ सदस्य वा पुरोहितबाट ग्रहण गर्ने परम्परा रहेको छ । कुल परम्परा र स्थान विशेष अनुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि छ ।

दुर्गापक्ष पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । नौ वटा दुर्गाका रूपलाई नवदुर्गा भनिन्छ । दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय नियम छ ।

सातौँ दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन दसैँघर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, अन्य देवी स्तोत्र एवं स्तुति गरिन्छ । नवरात्र भनेर समेत चिनिने दसैंनौ रात र दश दिनको हुन्छ ।

कात्तिक ७ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ बजेर २ मिनेटको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ ।

विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ ।

यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा विसर्जन गरिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित